व्यावसायी दिपक मलहोत्राले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । यसका लागि नेपाल चेम्बर्स अफ कमर्शले उनलाई सहयोग गर्ने भएको छ । व्यावसायी मलहोत्राले विश्वभर फैलिएको कोरोना भाइरससँग लड्न मास्क उत्पादन गर्न लागेका हुन् । विशेषतः अहिले बजारमा भइरहेको मास्कमा कालोबजारी रोक्न तथा सर्वसाधारणले सहज रुपमा मास्क प्राप्त गर्न सकुन भन्ने उद्देश्यले नै उत्पादन सुरु गरेको उनी बताउँछन् । मल्होत्राले भारतबाट मास्क बनाउने मेशिन झिकाएका छन् । व्यवसायी मलहोत्रासँग केन्द्रविन्दुले गरेको छोटो कुराकानीः
तपाईंहरुले उत्पादन गर्न लागेको मास्कका बारेमा भन्दिनुस न ।
हामीले उत्पादन गर्न लागेको मास्क सर्जिकल मास्क हो । त्यसका लागि भारतबाट भोली मेशिन आउँदैछ । अनि मात्रै उत्पादन सुरु हुन्छ । यस भन्दा पहिले पनि हामीले लोमससँग सहकार्य गरेर मास्क उत्पादन गर्ने काम गरेका थियौँ । अरु उत्पादन नभएसम्म लोमसले मास्क दिने सम्झौता भएको छ ।
यी मास्कका विशेषताहरु के के छन् ?
यो सर्जिकल मास्क नै हो । यो मास्क सबै उमेरकाले प्रयोग गर्न मिल्छ । यसमा सरकारसँग पनि समन्वय भइरहेको छ । कच्चा पदार्थका लागि सहयोग गर्ने कुरा भइरहेको छ ।
मास्क उत्पादन गर्नुको उद्देश्य के हो ?
हाम्रोमा अलिकति अभाव हुने वित्तिकै लुकाउने प्रवृति बढी मात्रामा छ । केही अभाव हुने वित्तिकै काला बजारी गर्नेहरु सल्बलाइहाल्छन् । त्यसैले कालाबजारीलाई निरुत्साही गर्न तथा उपभोक्तालाई सहज रुपमा प्राप्त होस भनेर हामीले उत्पादन सुरु गर्न लागेका हौँ । मास्कको माग बढ्यो भने बाहिर पनि पठाउने योजना छ ।
यसको मूल्य कति पर्छ त ?
यसको वास्तविक मूल्य त ५० रुपैयाँ जति पर्ने देखिएको छ । तर बजारमा ५ रुपैयाँमा दिने योजनामा हामी लागिरहेका छौँ ।
कति उत्पादन गर्ने लक्ष्य छ ?
हामीले हप्तामा ५ लाखका दरले उत्पादन गर्ने लक्ष्य राखेका छौँ ।





























प्रतिक्रिया