चर्चित कालापानी , गुमनाम दार्चुला (फोटोफिचर)

चर्चित कालापानी , गुमनाम दार्चुला (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

  • पुजा पन्त ‘कोयल’- 

‘सुदूरपश्चिम !’ नामै सुन्दा कतिपयको मानसपटलमा एउटा पिछडिएको,अविकसित र अनकन्टार गाँउको छवि चित्रण हुन्छ । यो शब्द सुन्दा छाउगोठको सम्झना आउँछ । मानिसहरु भन्छन् । मेरो जन्मस्थानको बारेमा चासो लिन चाहने मनुजहरु मध्ये निकै कमको प्रत्युत्तरमा ‘आहा’ तथा ‘वाह’ भेटेकी छु ।

यिनीहरु बाहेकका सबैले ट्वाल्ल परेर मुखमा हेर्दा लाग्छ कि मैले सुदूरपश्चिममा जन्मिएर घनघोर कुकृत्य गरेकी छु । झन् सुदूरपश्चिममा पनि दार्चुला कुन चरिको नाम हो भनेर अविज्ञात नेपालका शिक्षित तरुणहरु पनि यही नेपालमा आफ्नो उज्जर भविष्यको रेखा कोरिरहेका छन् भन्ने कुरा मलाई राजधानी आएपछि अवगत भयो ।

मेरै हास्टेलको एउटा कोठामा बस्ने जनकपुरतिरकी एउटा साथीले पहिलो चिनाजानीमा मेरो घर कता भनेर सोधिन् । मेरो ‘दार्चुला’ भन्ने उत्तरमा “यो दार्चुला भन्ने कता रहेछ ? मैले त ‘फस्ट टाइम’ सुनेको ।” उनले प्रतिक्रिया दिइन् ।“नेपालमा कति ओटा जिल्ला छन् ? त्यो त थाहा होला नि तपाईंलाई ।” मैले भने । “पिचहत्तर छन् नि । कस्तो कोइशन सोध्नुभएको हाहाहा ।”

उनको ‘पिचहत्तर’ले होइन, उनको हाहाहामा समर्थन जनाउन पनि होइन । उनको “कस्तो ‘कोइशन’ सोधेको ?” ले मलाई मेरो त्यो निक्खर र सद्दे हाँसो हास्न मन लाग्यो, जुन म मेरी ठूल्दी र सरिता दिदीको अगाडि मात्रै हाँस्ने गर्दछु । “२०७२ साल भदौ ५ गतेदेखि रुकुम र नवलपरासी दुई जिल्लालाई टुक्र्याएर चारओटा जिल्ला बनाएपछि अब नेपालमा ७७ ओटा जिल्लाहरु भइसकेका छन् ।”उनलाई भन्न मन त थियो तर उनको अगाडि बढी जान्ने हुन मन लागेन ।

“साथी हाम्रो मधेसतिर सामाजिक शिक्षा पढाई हुँदैन कि क्या हो ?” यत्ति चाहिँ नभनिरहन सकिन । “सामाजिक शिक्षा भन्नाले ?” हरर् मुभीजस्तो उनको उत्तर सुन्दा उनीमाथि दया पलायो । बिएस्सी नर्सिङ पढिरहेकी कालो फ्रेमको चस्मा लगाउने उनी हेर्दै पढन्ते देखिन्थीन् ।

मधेसी लवजमा बिचबिचमा अंग्रेजी मिसाउँदै नेपाली बोल्थिन् उनी । शौचालय जाने तथा खाना खाने समयबाहेक उनी कोठाभित्र पढेर बसिरहन्थीन् । खाना खाने समयबाहेक भर्याङ्ग तलमाथि गर्दा कहिलेकाँही उनको र मेरो जम्काभेट हुन्थ्यो । उनी मलाई देख्दा जबर्रजस्ती कृतीम हाँसो हाँस्थिन् । कहिलेकाँही मैले बोले बोल्थिन्, नभए नदेखेजस्तो गरेर आफ्नो बाटो लाग्थिन् । मेरो र उनको कोठालाई  झ्यालको पारदर्शी  सिसाले छुट्याउँथ्यो । झ्यालको पर्दा खोलेर हेर्दा जुनसुकै बेला उनी पढेर बस्थिन् ।

दशैँ गइसकेको थियो । तिहार आउन अब तीन चार दिन बाँकी थियो । कलेज स्थानान्तरणको समय सकिन्छ भनेर आमाको “दिवालीपाछा झाली केन हुन्यो ढिलो रे ।” भन्ने ढिपीलाई नसुनेजस्तै गरेर काठमाडौँ हिँडेको कुरामा पछुतो लाग्न थालिसकेको थियो । होस्टेलमा भान्से दिदी, वार्डेन दिदी, उनी र म बाहेक कोही पनि थिएन । पहिलोपटक परिवारबाट टाढा भएकी थिए । म चकचके चुलबुले अनि डरपोकलाई एक्लै समय बिताउन गाह्रो भइरहेको थियो ।

घरको यादले खुब रुन मन लाग्थ्यो । एकदिन सहनै नसकेर फेसबुकमा “बाहिर तिहारको झिलीमिली छ भित्र म निभेकी छु ।” भन्ने स्टाटस राखिसकेपछि बुवाको आज्ञामा डिलिट पनि गरें । समय बिताउन गाह्रो भएर एकदिन दिउँसोतिर ‘स्म्युल’ मा यशोधा पराजुलीको ‘भिज्यो सिरानी रातमा’ भन्ने गीत गाउँदागाउँदै उनले “भोली मेरो एक्जाम छ । डिस्टर्ब भयो ।” भन्दै झ्यालमा टकटक गरिन् ।

फेरि घरको यादले परेली भिज्दा मोबाइलमा घण्टी बज्यो । टाइसु अंकलको फोन रहेछ । मेरो बुवाको फुपूको छोरा हो उहाँ । फोन हजुरआमा (बुवाको फुपू) ले गर्नुभएको रहेछ । “काठमाडौँ आइबटी लै हम्खाँ नाई भणे । काँ छै ? तेरा अंकललाई पाठाईदिनौँ घर आइ ।” मैले हेलो आमा ढोग गरे भन्न नपाउँदै एकैसासमा भन्नुभयो । मलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो । एकैछिनमा अंकल लिन आउनुभयो । म फुर्किदैँ बाइकपछाडि बसेर ललितपुरको कुसुन्तीस्थित हजुरआमाको घर पुगें । हजुरआमाले मध्यरातसम्म दार्चुलाकै कुरा गर्नुभयो । मलाई थाहा नभएका धेरै कुराहरु सुनाउनुभयो ।  मलाई पस्ती (मेरो गाँउ) पुगेजस्तै लाग्यो । तिहार उतै मनाएर होस्टेल फर्के ।

केही दिनपछि कलेज जान थाले । सुदूरपश्चिमेलीको नाम–निसाना थिएन कलेजमा । त्यहाँ पनि उही ताल । सुदूरपश्चिम घर हो भन्दा सबैको मुखमा ‘ओ माई गड !’ झुण्डिन्थ्यो । त्यहाँ पनि “दार्चुला भनेको कता हो ?” भनेर सोध्नेहरुको कमि थिएन । कोही कोहीले त दार्चुला भनिसकेपछि “दोलखा ?” भनेर सोध्थे । त्यसैले मैले अब कसैले ‘घर कता हो ?’ भनेर सोध्दा ‘लिपुलेक–कालापानी थाहा छ ?’ भनेर सोध्न थालेकी छु ।

धन्न ! भारतले कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेपछि कालापानीको नाम चाहीँ सबैजसोले सुनेछन् । तर बिडम्बना कालापानी र लिपुलेक अवस्थित दार्चुलाको नाम चाहीँ कसैलाई थाहा रहेनछ । विशेष महत्व बोकेको हाम्रै नेपालको एक जिल्ला दार्चुलाको बारेमा हाम्रै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु अनविज्ञ रहेको देख्दा मेरो आत्मसम्मानमा चोट पुग्यो र दार्चुलाको इतिहास खोतल्नतिर लागे । सोधिखोजीकै क्रममा अग्रजहरुबाट कहिल्यै नसुनेको तथ्यहरु पनि थाहा पाउँदा धेरै खुसी लाग्यो । यो आलेखमार्फत दार्चुलाको बारेमा जानकारी दिने कोशीस गरेकी छु ।

नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलका ४ जिल्ला मध्ये छुट्टै महत्व रहेको यो जिल्ला एशियाका दुई शक्तिशाली राष्ट्र भारत र चीनको सिमानासंग जोडिएको छ । दार्चुला जिल्लाको नाम दार्चुला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण प्राप्त नभएतापनि विभिन्न किबंदन्तिहरु सुन्न पाईन्छन् ।

दार्चुला शव्द उच्चारण गर्दा दारचूला भए पनि स्थानीय भाषाको दुईवटा शव्द ‘धार’ र ‘चूला’बाट विकसित भएको हो । स्थानीय भाषामा धारको अर्थ पहाडको अग्लो चुचुरो र चुलाको अर्थ चुल्हो हुन्छ । यस भेगमा खाना पकाउन प्रयोग गरीने चुल्होहरु प्रायः एक समानका तिन वटा ढुङ्गाहरुमा माटो पोतेर चुचुरो को आकारमा बनेका हुन्छन् ।

यसरी तिनैतिर चुचुरो (धार) जस्तो चुल्हो बनाई खान पकाउने ठाउँ भएकोले ‘धारचुला’ नाम रहेको र धारचुलापछि अपभ्रंस भई दारचुला र त्यसपछि दार्चुला बन्न गएको हो भन्ने एक थरिको भनाइ रहेको छ ।

अर्को किम्वदन्ति अनुसार यहाँस्थित तीनवटा पहाडका चुचुराहरु वर्तमानमा एक पहाड भारत र दुई वटा पहाड नेपालमै रहेका छन् । फेदी बाट हेर्दा धार परेको जस्तो स्थानीय चुल्होको आकारमा चुचुरो देखिन्छ । प्राचिनकालमा ब्यास हिमालबाट ब्यास ऋषि तपस्यागरि फर्कदा यी तिन धारहरुको चुल्हो बनाइ भात पकाई खाएको हुनाले यो ठाउँको नाम धारचूला रहन गएको  हो भनिन्छ ।  धारचूला शव्द अपभ्रंस भई दार्चुला भएको हो भन्ने अर्को भनाइ रहेको छ ।

दार्चुला जिल्लाको सिमाना चीनको तिब्बत क्षेत्रसित जोडिएको छ । तिब्बतसँग व्यापार गर्ने यहाँको प्रमुख नाकाको रुपमा ब्यास क्षेत्र रहेको छ । ब्यासबाट तिब्बत क्षेत्रमा आवतजावत गर्दा एउटा भन्ज्याङ पार गरी जानुपर्ने हुन्छ । जसलाई तिब्बती भाषामा “ला” भनिन्छ । यो भन्ज्याङ तिब्बतसित व्यापार गर्ने द्वार (बाटो) भएकोले द्वार र “ला” शब्दहरु मिलि दार्चुला नाम रहन गएको हो भन्ने पनि अर्को भनाइ पाईन्छ ।

यहाँको प्रमुख भाषा ‘कुमाउनी उपबोली’ हो जुन भारतको कुमाउँ– गढवालको कुमाउनी – गढवाली र डोटेली भाषासँग मिल्दोजुल्दो हुन्छ ।
“छाउपडी प्रथा”ले प्रसिद्द सुदूरपश्चिम प्रदेश अन्तर्गतको यो जिल्लामा छाउपडी प्रथा छैन । त्यहाँ गएरै अध्ययन गरेपनि छाउगोठ भेट्टिन गाह्रो हुन्छ । दार्चुला जिल्लामा बोक्सी प्रथा छैन भन्दा सजिलै पत्याउन जोकोहीलाई गाह्रो होला तर यो सत्य हो ।

यद्दपी सात नम्बर प्रदेशको राजधानी कैलाली जस्तो विकसित जिल्लामा बोक्सीको आरोपमा वर्षेनी धेरै महिलाहरुलाई यातना दिएको घटनाहरु पटकपटक सुनिन्छन् ।

२०६८ सालको राष्ट्रिय जनगणना अनुसार दार्चुला जिल्लाको कुल जनसंख्या १३३२७४ रहेको छ । जस मध्ये पुरुषको संख्या ६३६०५ रहेको छ भने महिलाको संख्या ६९६६९ रहेको छ । सुदूरपश्चिम प्रदेशका नौंओटा जिल्लाहरुमध्ये दार्चुला एकमात्र साक्षर जिल्ला हो । जिशिका दार्चुलाको २०७२ को विवरण अनुसार पुरुष ९४.६५ र महिला ९६.४५ गरी दार्चुला जिल्लाको कुल साक्षरता ९५.४५ रहेको छ ।
आ.ब. २०७४/ ७५ मा ७७ जिल्ला मध्ये दार्चुला जिल्ला २०७५ बैशाख २५ मा देशको ५२ औ खुल्ला दिशा मुक्त जिल्ला घोषणा भई पूर्ण सरसफाइ तर्फ उन्मुख भएको छ ।

दार्चुला जिल्लाको सिमाना पूर्वमा बझाङ जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ, उतरमा चिनको स्वशाषित प्रदेश तिब्बत र दक्षिणमा बैतडी जिल्लासँग जोडिएको छ । भू-विभाजन अनुसार दार्चुला जिल्लाको भूगोललाई समथर प्रदेश, पहाडी प्रदेश, लेकाली प्रदेश र हिमाली प्रदेश गरी चार भागमा विभाजन गरेर हेर्न सकिन्छ ।

१. समथर प्रदेश

समथर प्रदेश अन्तर्गत महाकाली, चौलानी र अन्य त्यस्तै खोलानालाहरूको किनारामा अवस्थित भित्री मधेशसँग तुलना गर्न सकिने समथर उब्जाउ फाँटहरू समथर प्रदेश अन्तर्गत पर्दछन् । जिल्लाको प्रमुख अन्न भण्डारको रुपमा चर्चा पाएको यो समथर प्रदेशमा जनघनत्व पनि धेरै रहेको छ । साविकका उकु, लाली, दत्तु, गोकुलेश्वर, शिखर, देथला आदी गाविसहरू यस प्रदेशका प्रमुख उदाहरण हुन् ।

२. पहाडी प्रदेश

पहाडी प्रदेश अन्तरगत यस जिल्लाको मध्य भागमा रहेको उच्च समस्थली भूभागहरू पर्दछन् । यो क्षेत्रमा समथर भूभागको तुलनामा केही कम उत्पादन हुने भएता पनि अपेक्षाकृत उब्जाउ क्षेत्र नै मानिन्छ । साविकका शंकरपुर, भगवती, सर्मोली, रानिशिखर, रिठाचौपाता, ग्वानी, डाँडाकोट, हिकिला आदी गाविसहरू यस प्रदेशका प्रमुख उदाहरणहरू हुन् ।

३. लेकाली प्रदेश

लेकाली प्रदेश अन्तरगत प्राकृतिक सौन्दर्यताले सिंगारिएको तर उब्जाउको दृष्टिकोणले कम उर्बरक क्षेत्रहरू पर्दछन् । प्रायः हेमन्त ऋतुमा हिमपात हुनु यस प्रदेशको विशेषता हो । लेकाली प्रदेश अन्तरगत साविकका सुन्सेरा, राप्ला, खण्डेश्वरी, घुसा, इयरकोट आदि गाविसहरू पर्दछन् ।

४. हिमाली प्रदेश

हिमाली प्रदेश अन्तर्गत जिल्लाको उत्तरपट्टीको चीनको तिब्बतसँग सिमा जोडिएको सामान्यतया बाह्रै महिना हिउँले ढाकिएको क्षेत्र पर्दछ । यस प्रदेशमा उत्पादन मात्र होइन मानिसहरूको बसोबास समेत नगण्य छ । हिउँदमा तल बेसी खलंगातिर झर्ने र गृष्ममा फर्किने यहाँ बसोबास गर्ने (सौका) समुदायको प्रमुख विशेषता बोकेको ब्यास गाउँपालिकाको वडा नम्बर १ यस प्रदेशको ज्वलन्त उदाहरण हो ।

यस जिल्लामा सितोष्ण, सम सितोष्ण, अतिशीत हावापानी यस जिल्लामा ५ किसिमका वनहरु पाईन्छन् जस अनुसार कोणधारी वन, हार्डउड वन, मिश्रित वन, झाडी बुट्यान, अन्य रहेका छन् । यस जिल्लाको वनको कुल क्षेत्रफल ७२९८२.३ हेक्टर रहेको छ । जसमध्ये सामुदायिक वन क्षेत्रले ओगटेको क्षेत्रफल ३७२१.७१ हे. उपभोक्ता समितिहरुलाई हस्तान्तरण गरी सकिएको छ । आइसिआइएमओडी १९९७ अनुसार वन जंगलमा आश्रित घर संख्या २७.५५ रहेको छ ।

यस जिल्लाभित्र पाइने वनस्पतिहरु मध्ये देवदार, बाज, सल्लो, साल, टुणी, उतीस, सिमल, चिउरी, लालीगुराँस, बाँस, कोइरालो, साज, सानन, धुईयो, मौनेठी, पैंयो, जामुन, जस्ता वनस्पतीका साथै यार्सागुम्बा, पाँचऔले, झयाउ, भुतकेश, भोजपत्र, भ्याकुर, दालचिनी, टिमुर, पाषाणवेद, पदमचाल, दारुहल्दी, तितेपाती, लोठसल्ला, गुच्ची च्याउ, कुमकुम, सिकाकाई, सतुवा, सेतक चिनी, कुटकी, काफलबोक्रा, ओखरबोक्रा, धुपीपात, तेजपात र रिठ्ठा आदि जडिबुटी समेत रहेका छन् ।

यो जिल्ला पर्यटकीय क्षेत्रमा पनि धनी रहेको छ । यस जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा अपी हिमाल ७१३२ मी. (घुषा), व्यास हिमाल ६७७० मी. (व्यास), नाम्पा ६७५४ मी. (व्यास), महलको भग्नावशेष (उकु), सुरमासरोवर ताल (खण्डेश्वरी), लिपु लेक ५००० मीटर धर्मी गुफा (खण्डेश्वरी), शिखर डाँडा (मालीकार्जुन), राष्ट्रको सातौँ धाम मालीकार्जुन (मालीकार्जुन), हुनैनाथ मन्दिर (हुनैनाथ), जयपुर मन्दिर (रिठाचौपाता), बन्तोली मन्दिर (बोहरीगाँउ), महलको भग्नावशेष (देवल), गोकुलेश्वर शिव मन्दिर (गोकुलेश्वर), लटीनाथ मन्दिर (लटीनाथ) आदि रहेका छन् ।

यी तस्बीरहरुमा कैद गरिएका दार्चुलाका मनमोहक दृश्यहरु देख्दा दार्चुला घुम्न जान कसलाई रहर नजाग्ला र ! जाने होइन त एकपटक ?

 

तस्बीर: धिरज कुमार पन्त/हिमालय भट्ट/युएस बोहोरा/भिजिट नेपाल २०२०

Logo