काठमाडौं ।
ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
यदि उनी वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भए भने २० औं अध्यक्ष बन्ने पक्का छ । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ । यसैले आगामी चैत अन्तिम साता काठमाडौंमा हुने साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ढकाल ०७९ चैतमा महासंघको स्वतः अध्यक्ष बन्नेछन् ।
डिस होम मिडिया प्रालिका प्रवर्द्धक ढकालले अहिले वित्तीय क्षेत्रमा मात्र होइन, जलविद्युत उत्पादन, सवारीसाधन विक्री, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, केबुलकार लगायतका क्षेत्रमा समेत लगानी गरेका छन् ।
आज राजधानीको याक एण्ड यति होटलमा आफ्ना समर्थकका वीच उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका ढकाललाई पूर्वअध्यक्ष चण्डीराज ढकालको पनि समर्थन छ । नेकपा निकट रहेका व्यवसायी ढकालको प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग निकै घनिष्ट सम्बन्ध भएकाले उनको सम्भावना बढेको सहजै अनुमान गर्न सकिन्छ ।





























प्रतिक्रिया