काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरेका छन् । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजना उनले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।
उद्घाटन लगत्तै तेह्रथुमको खोरुङ्गामा निर्माण भएको सो आयोजनाले आजदेखि व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको बताए । नेपालको जलविद्युत् उत्पादनको इतिहासमा निजी क्षेत्रले गरेको योगदान महत्वपूर्ण छ भन्दै उनले समयभन्दा अगावै आयोजना सम्पन्न गरेकामा प्रवद्र्धक कम्पनीलाई धन्यवाद दिए।
सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेको उल्लेख गर्दै सबैको सार्थक प्रयासबाट मात्रै सफलता हासिल हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले आयोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेकामा कम्पनीका प्रबन्ध सञ्चालक मोहन डाँगीलगायत सम्पूर्ण लगानीकर्ता तथा तेह्रथुमवासीलाई आभार व्यक्त गरे ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायतको उपस्थिति थियो । गत माघ २६ गतेदेखि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक डाँगीका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत् विद्युतगृहदेखि ४.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको जिरी–खिम्ती सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ । सबस्टेशनसम्म आवश्यक पर्ने ३३ केभी क्षमताको प्रसारण लाइन प्रवद्र्धक कम्पनी आफैँले निर्माण गरेको प्रबन्ध सञ्चालक डाँगीको भनाइ छ ।
विसं २०७३ माघदेखि निर्माण शुरु भएको आयोजनाको गत पुस पहिलो साता नै सम्पन्न गरिएको थियो । विद्युत् प्राधिकरणले आवश्यक परीक्षण गरी १५ दिन परीक्षण उत्पादन गरेको थियो । आवश्यक तयारी तथा अन्य प्राविधिक परीक्षणपछि आजदेखि व्यावसायिक उत्पादन शुरु भएको हो ।
रासस





























प्रतिक्रिया