कोटेश्वरको जाम : गेम, ज्ञान, हाम, काम एकै ठाम !

कोटेश्वरको जाम : गेम, ज्ञान, हाम, काम एकै ठाम !

केन्द्रबिन्दु
0
Shares

  • रामजी बलामी-

गायक कपिल कस्पाल भक्तपुरबाट काठमाडौं ओहोरदोहोर गरिरहन्छन् । भक्तपुरको कमलविनायकदेखि सरर गुडेको कारले उनलाई आनन्द महसुस गराउँछ । जब उनी लोकन्थली पुग्छन् तब उनको आँखाले देख्ने दृश्यले उनलाई भारी महसुस हुन थाल्छ । उनलाई भारी महसुस गराउने त्यो दृश्य न कुनै दुर्घटनाको हो न ध्वनि प्रदूूषण गर्दै आफ्नै टाउको माथि उडेका हवाइजहाजहरूको नै हो । हेर्दा र सुन्दा सामान्य तर भोग्नेलाई असिनपसिन बनाउने त्यो दृश्य हो, कोटेश्वरदेखि कौशलटारसम्म हुने ट्राफिक जाम ।

सामान्यतः कमल विनायकदेखि करिब २५ मिनेटमा रत्नपार्क पुग्न सकिन्छ तर उनी डेढदेखि दुई घण्टासम्म लाग्ने गरेको बताउँछन् । कोटेश्वरमा हुने जामलाई कस्पाल पानीको धारामा लाग्ने मान्छेको लाइनसँग तुलना गर्छन् । उनी भन्छन्, “भक्तपुरबाट काठमाडौं ओहोरदोहोर गर्दा साढे २ घण्टा जामले खान्छ ।”

जामले के के के कस्तो प्रभाव पार्छ त ? “समय र इन्धनको सत्यनाश, प्रदुषण, युवाशक्ति खेर आदि इत्यादि ।” उनले भने । यो बाटो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने मुख्य बाटो भएकाले पनि विदेशी पर्यटकहरूमा गलत सन्देश जाने उनी बताउँछन्, “यो जामले भिजिट नेपाललाई नराम्ररी असर पार्छ ।” उनी भन्छन् ।

निजी सवारीचालकहरूको भन्दा ठूलो पीडा त झन् सार्वजनिक सवारीसाधनका चालकहरूको छ । स्मार्ट चालकको पहिचान बनाएका बा ४ ख २७२४ बसका चालक गंगाराम खाइजु पनि कोटेश्वरको जामले निकै सास्ती हुने गरेको बताउँछन् ।

वि.सं. २०५७ सालदेखि कमलविनायक–बागबजार रुटमा बस चलाउँदै आएका उनी सडक फराकिलो बनाएर मात्रै जाम कम नहुने बताउँछन् । “कमल विनायकदेखि बागबजारसम्म एक घण्टाको बाटो हो तर जामले गर्दा कहिलकाहिँ त २ घण्टासम्म लाग्छ ।” उनले आफ्नो पीडा पोखे ।

जामले गर्दा सार्वजनिक सवारी चालकहरूको आम्दानी समेत घटेको बताउँदै उनी भन्छन्, “जाम नहुँदो हो त सहजै ५ ट्रिप गर्न सकिन्छ, जामले गर्दा मुस्किलले ४ ट्रिप हुन्छ ।” एकातिर जाम अर्काेतिर सार्वजनिक शौचालयको अभावले गर्दा चालक, सहचालक र यात्रुलाई निकै अप्ठ्यारो हुने गरेको उनको अनुभव छ । तीनदेखि पाँच किमीको फरकमा सार्वजनकि शौचालय स्थापना गर्न सरकारलाई सुझाउँदै उनी भन्छन्, “शौचालयको व्यवस्था भए एकातिर जनताको स्वास्थ्य बिग्रिंदैन, अर्काेतिर सरकारको आम्दानी बढ्छ ।”

निजी र सार्वजनिक सवारी चालकलाई भन्दा झन् बढी गाह्रो त सर्वसाधारणलाई छ । कलंकीकी रमीता सुवेदी काँडाघारीस्थित एक स्वास्थ्य संस्थामा काम गर्छिन् । उनलाई आउजाउ गर्न दुईवटा गाडी चढ्नुपर्छ । “त्यसै त लामो बाटो त्यसमाथि कोटेश्वरको जाम, न टाइममा अफिस पुग्न सकिन्छ न त घरमा नै ।” उनले भनिन् ।

गेम, ज्ञान, हाम, काम एकै ठाम

कोटेश्वरको जामले सर्वसाधारणदेखि पर्यटकसम्म आजित छन् । आवतजावत गर्नेलाई मात्रै होइन त्यस आसपास बसोबास गर्नेहरू पनि उत्तिकै पीडित छन् । एकदेखि २ घण्टासम्मको जाम भनेको धेरै ठूलो समय हो ।

उसो भए यति लामो समय जाममा पर्नेहरूले के गरेर समय कटाउँछन् त ? नकारात्मक घटनाभित्र सकारात्मक लाभ खोज्नेहरूले भने कोटेश्वरको जामलाई सदुपयोग पनि गरिरहेका छन् । के के हुन्छन् त त्यो असिनपसिन जामभित्र ?

जाममा परेकाहरूको पहिलो रोजाइ हो मोबाइल फोन । कोही त्यहि फोनभित्रको सामाजिक सञ्जालभित्रको जञ्जालमा रुमलिरहेका हुन्छन् । सवारीसाधन रोकिएर के भो र कतिपय त पब्जी, क्यान्डीक्रसजस्ता गेमहरूमा औंला कुदाइरहेका हुन्छन् । मख्ख परेर च्याटिङमा रमाउने र गेममा भ्याइनभ्याई औंला कुदाउनेहरूलाई त जाम खुल्दा पनि रिस उठ्दो हो क्यार !

अध्ययनमा रुचि हुनेहरू तथा घर अफिसमा कामको चापले पढ्ने वातावरण नमिलेकाहरूलाई त यो जाम वरदान जस्तै बनेको छ सायद । त्यसो त उनीहरू टयाक्सी, कार, बसभित्र पुस्तक र पत्रपत्रिका पढेर जामको फाइदा उठाइरहेका हुन्छन् ।

यो भन्दा रोचक कुरा त के छ भने कतिपय यो जामको फाइदा उठाउँदै माम समेत हाम गरिरहेका हुन्छन् । सवारीसाधनभित्र विस्कुट, चाउचाउ, लेज, कर्मुरे खानु त स्वाभाविक हो तर खाना खानु त्यति सम्भव हुन्न ।

प्राय निजी सवारीमा यात्रा गरिरहेकाहरू यो जाममा खाना पनि खाँदा रहेछन् । गुडेको सवारीमा बसेर खाना खान सहज नहुने हुँदा उनीहरूका लागि यो राम्रो अवसर बनेको पाइन्छ ।

सवारीसाधनभित्रको पीडा र सास्ती मात्रै होइन यो जामको फाइदा उठाउँदै आम्दानी गर्नेहरू पनि छन् । यसरी जामलाई आम्दानीमा परिणत गर्ने मध्येका एक हुन् सन्तोष यादव । उनले केही महिनादेखि यो जामलाई बिजनेशको थलो बनाउदै आएका छन् । उनी सवारीसाधन पुछ्ने कपडा र पानी बेच्छन् । उनी दैनिक एक हजार रुपैयाँसम्म कमाउँछन् । उनी जस्तै यो जाममा विभिन्न सामानहरूको व्यापार गर्नेहरू थुप्रै छन् जो चिया, चुरोट, चटपटे, पत्रपत्रिकादेखि गँुदपाक समेत बेच्छन् ।

जाम हटाउन घर भत्काउनेदेखि आकाशेपुल बनाउनेसम्मका योजना

काठमाडौंमा अत्यधिक जाम हुने ठाउँहरूमध्ये कोटेश्वर प्रमुख ठाउँ हो । कहिलेकाहीँ त यो ठाउँको जाम काठमाडौंको तीनकुनेदेखि र भक्तपुरको गठ्ठाघरसम्म नै पुुग्ने गर्दछ । बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ७ बजेसम्म अधिक जाम हुने गरेको छ ।

जाम हटाउनका लागि सरकारले पनि ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ बनाएर लागू गरेको छ । यो कार्ययोजनामा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सरकारले गर्ने विभिन्न काम कारवाहीहरू उल्लेख छन् । जसलाई कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई पत्र पठाई निर्देशन दिइसकेको छ ।

कोटेश्वर चोकको जाम हटाउनका लागि सरकारले आगामी वैशाखसम्ममा कोटेश्वर चोकबाट जडिबुटी चोकसम्मको खाली ठाउँमा सर्भिस लेन विस्तार गर्ने भएको छ । त्यस्तै कोटेश्वर चोकबाट जडिबुटी चोकतिर जाँदा बाँयातर्फबाट सोझै ३२ नम्वर वडा कार्यालय निस्किने गरी खुलेको सडकको स्तरोन्नति गरिने भएको छ ।

यसका लागि काठमाडौं महानगरपालिका, अर्थमन्त्रालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा नागरिक उड्डन कार्यालयलाई समन्वय गरी आगामी असारभित्र काम सम्पन्न गर्न निर्देशन दिइएको छ । त्यस्तै जडिबुटी चोकमा रहेको एउटा कच्ची घर मुआब्जा दिई हटाइने भएको छ । त्यस्तै सडक विभागको संयोजनमा आगामी असारभित्र जडिबुटी चोकबाट निर्माणाधीन मनोहरा पुसम्म जानका लागि दुवैतर्फ सर्भिस लेनको विस्तार गरिने भएको छ । आगामी वैशाखभित्र जडिबुटी चोकबाट कोटेश्वर चोकसम्म बायाँतिर सर्भिस लेन विस्तार गरिने भएको छ । त्यस्ते कोटेश्वर चोकमा आगामी असारभित्र आकासे पुल निर्माण गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

सरकारले कोटेश्वर चोकमा पोर्टेवल ओभरहेड ब्रिज बनाउने भएको छ । पैदलयात्रीलाई जथाभावी सडकमा जान नमिल्ने गरी रेलिङ लगाउने पनि सरकारी तयारी छ । त्यस्तै मनहरा पुल, पेप्सीकोला, कोटेश्वर चोक, सातदोबाटो । शान्तिनगर, पानीट्यांकी, एयरपोर्टलगायतमा चोकहरूमा रहेको बस पकेटहरूलाई व्यवस्थित बनाइने भएको छ । त्यस्तै कोटेश्वरमा रहेको भ्याली रिकेश पेट्रोल पम्प हटाउने र चोकका विभिन्न ठाउँमा सिसिटिभी राख्ने पनि योजना छ ।

ट्राफिक व्यवस्थापनकै लागि कोटेश्वर चोक आसपासका विभिन्न ठाउँहरूमा दायाँ मोड्न निषेध गरिएका छन् । मीनभवन तर्फबाट तीनकुनेतर्फ जाँदा बानेश्वर वृत्ततर्फ मोड्न नपाइने भएको छ । त्यस्तै शान्तिनगरबाट आएर कान्तिपुर अस्पतालतर्फ, शान्तिनगरबाट आएर बानेश्वरतर्फ, मीनभवनको दुवैतर्फ दायाँ मोड्न निषेध गरिएका छन् । त्यस्तै कोटेश्वर चोकनजिक भक्तपुर जाने बसपकेट, मीनभवनलगायतका ठाउँहरूमा रहेका खाल्डाखुल्डी पुर्ने भएको छ ।

 

यो पनि 

अब स्मार्ट ट्राफिक व्यवस्थापन, काठमाडौंका ४५ ठाउँमा

ट्राफिक र पेडेस्ट्रियन लाइट

Logo