अदालत छलेर सिद्धबाबा भारत भागे

अदालत छलेर सिद्धबाबा भारत भागे

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

उच्च अदालत विराटनगरमा आफू विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ चलिरहेका बेला बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी बिहीबार दिउँसो भारततिर लागेका छन् ।

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ हिँडेका हुन् ।

सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन् । उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो । स्रोतका अनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हवल्दार साह अन्योलमा परेका छन् ।

केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए । अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पार गरेका हुन् । जतिबेला उनी विरुद्धको मुद्दाको सुनुवाइ अदालतमा जारी थियो।

हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइयो, मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, उनी किन उता लागे भन्ने बारेमा यकिन भइसकेको छैन ।

स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो । सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए । त्यसकै फलोअपका लागि फेरि गएको उनी निकट स्रोतले बतायो ।
अन्नपूर्णबाट

Logo