विर्तामोड ।
साना निर्माणकर्मी व्यवसायीले भूकम्पबाट बच्न भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न सुझाव दिएका छन् । २२ औंँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज विर्तामोडमा आयोजित कार्यक्रममा साना निर्माणकर्मी सङ्घ झापाका अध्यक्ष राजु राजवंशीले भूकम्प आउँदा घर भत्कने जोखिम उच्च हुने हुँदा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आग्रह गरे ।
उनले भारतीय निर्माण व्यवसायीका कारण निर्माण क्षेत्रमा काम गर्ने व्यवसायी र मजदूर दुवै मारमा परेको भन्दै भूकम्प प्रतिरोधात्मक तालीम प्राप्त निर्माण व्यवसायी र निर्माण क्षेत्रमा काम गर्ने मजदूरलाई मात्र घर निर्माण गर्न लगाउनु पर्ने बताए।
झापामा वार्षिक दुई हजार भन्दा बढी घर निर्माण हुने गरेको र अधिकांश निर्माण व्यवसायी भारतीय हुने तथा काम गर्ने मजदूरसमेत भारतबाट आउने हुँदा नेपाली मजदूर र व्यवसायी मारमा परेको उनले बताए ।
“नेपाली व्यवसायी र मजदूरले भूकम्प प्रतिरोधात्मक तालीम लिएका छन् तर उनीहरुले भारतीय निर्माणकर्मी र मजदूरसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन”, अध्यक्ष राजवंशीले भने, “सस्तोका नाममा भारतीय मजदूरबाट घर निर्माण गर्दा पछिल्लो समय निर्माण गरिएका अधिकांश घर भूकम्पीय जोखिममा छन् ।” झापामा झण्डै पाँच हजार निर्माण व्यवसायी र २० हजारभन्दा बढी मजदूर रहेको अध्यक्ष राजवंशीको भनाइ छ ।
त्यस्तै सङ्घका सचिव श्याम बस्नेतले भूकम्प प्रतिरोधात्मक घर निर्माणका विषयमा सचेतना जगाउन सङ्घले भूकम्प सुरक्षा दिवसको अवसरमा विर्तामोडमा ¥यालीसहितको कार्यक्रम आयोजना गरेको बताए । साना निर्माणकर्मी सङ्घले भूकम्पको विषयमा निकालेको चेतनामूलक ¥यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो ।
रासस





























प्रतिक्रिया