काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत जीर्णोद्वारको सम्पूर्ण काम सम्पन्न भएको छ । निर्धारित समयभन्दा करिब पाँच महिना अघि नै आयोजनाको काम सकेर विमानस्थलले नेपालमा ठूला योजना पनि समयभित्रै सफल रुपमा सम्पन्न हुन्छ भन्ने दरिलो उदाहरण प्रस्तुत गरेको छ । योसँगै अब अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन योग्य भएको छ ।
विमानस्थल जीर्णोद्वारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङ कर्पोरेशनले मंगलबारऔपचारिक रुपमा आयोजना नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । कर्पोरेशनका उपाध्यक्ष युन कोजिहाले प्राधिकरणका महानिर्देशकलाई उक्त आयोजना हस्तान्तरण गरेका हुन् ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनामार्फत विमानस्थल जीर्णोद्वार गरिएको हो । धावनमार्ग स्तरोन्नतिका लागि प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङ कर्पोरेशनसँग मूल्य अभिवृद्धि करसहित चार अर्ब २७ करोडमा सम्झौता गरेको थियो । अहिले एयरफिल्ड लाइटको कामबाहेक सबै काम सकिएको छ । लाइटको काम पनि बढीमा पाँच दिनभित्र सकिने आयोजनाले जनाएको छ ।
विमानस्थलको जीर्णोद्वारको दोस्रो चरणको काम गत भदौ १५ देखि दैनिक सात घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु गरिएको थियो । विमानस्थलको पहिलो चरण अन्तर्गत २०७५ चैत १८ देखि २०७६ असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो । विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । उक्त अवधिमा रातको १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे मर्मतको काम सफलतापूर्वक सम्पन्न भई अब दैनिक २१ घण्टा सञ्चालन योग्य भएको बताए । सन् २०२० को जनवरी १ देखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने उनको भनाइ छ । महाप्रबन्धक केसीले विमानस्थल अहिले नै २१ घण्टा सञ्चालनमा आउने भए पनि सम्बन्धित एयरलाइन्सले तयारी गर्नुपर्ने भएकाले उडान मिति जनवरी १ लाई निर्धारण गरिएको उल्लेख गरे ।
सात दशकदेखि सञ्चालनमा आएको यो विमानस्थल केवल विमानस्थल मात्र नभई नेपालको लाइफलाइन पनि हो । यसबीचमा धावनमार्गले पनि धेरै उतारचढाव व्यहोरेको छ । सन् १९९७ मा विमानस्थलको धावनमार्गलाई स्तरीकरण गर्दै तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनाएपछि यहाँ १९ सिट क्षमताका विमानदेखि बोइङ ७७७ जस्ता ठूला जहाज उडान र अवतरण हुँदै आएका छन् ।
सन् २००९ देखि २०११ सम्ममा विमानस्थलको धावनमार्गको ओभरले गरिएको थियो । सन् २०१३ देखि यसमा कतै पिच उप्किने समस्या देखिन थाल्यो । सन् २०१५ को गोरखा भूकम्पपछि धावनमार्गको भित्री तहमा समस्या आएको धावनमार्ग पूरै कालोपत्र गर्न विज्ञहरुले सुझाए पनि सरकारले विमानस्थलको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निर्धारित समय अघि नै विमानस्थल जीर्णोद्वारको काम सफलतापूर्वक सम्पन्न भएको र यसले ठूला आयोजना पनि इच्छाशक्ति भए समयभित्रै सम्पन्न हुन्छन् सफल उदाहरण प्रस्तुत गरेको बताए ।
यो अवधिमा विमानस्थलको तीन हजार मिटर लामो धावनमार्ग कालोपत्र, ट्याक्सी वे कालोपत्र गर्ने र बत्ती जडानको काम सकिएको छ । दोस्रो चरणमा रन वे सेन्टरलाइन लाइट फेर्ने तथा ट्याक्सी वे र रन वे जोड्ने लिङ्क रोड निर्माणलगायतको काम भएको थियो ।





























प्रतिक्रिया