हेटौंडा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आफ्नो चुनावी क्षेत्र पुगि दिनभर कार्यकर्ता भेटघाटमा ब्यस्त भए । सोमबार मकवानपुर १ को बागमती गाउँ पालिकामा पुगेर विभिन्न वडाका आयोजित अगुवा कार्यकर्ता भेलामा सरिक हुँदै थापाले सम्बोधन गरे । ०६२/६३ को परिवर्तनपछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटिपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए । उनले अब कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गरे ।
राईगाउँ र फापरबारीमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत चर्चा गरे । आफूसङ्ग प्रतिस्पर्धा गर्ने भन्दा म मा के कुरा कम छ ? योग्यता, क्षमता, अनुभव भनी प्रश्न गर्दै थापाले आफूले मकवानपुरे जनताको थप माया खोजेको बताए।
काङ्ग्रेस, कम्युनिस्टको असफलता र अकर्मण्यताको चर्चा गर्दै थापाले भ्रष्टाचार, बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आवश्यकता भएको विचार ब्यक्त गरे । क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ ,शक्ति र पदको भागबण्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्दत रहेको भन्दै थापाले आफूलाई ठूला भन्ने शक्ति काङ्ग्रेस कम्युनिस्ट असफल भएको बताए । कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारीता, निष्ठा र सिद्धान्त प्रतिको प्रतिबद्धताकाको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनु पर्ने आवश्यकतामा जोड दिए ।
भ्रष्ट र असक्षमलाई विस्थापित गरि राप्रपालाई स्थापित गर्न उनको आग्रह थियो । कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरी न्यौपाने, जिल्ला सचिव सागर थापा, दिल बहादुर बल, शरणकाजी श्रेष्ठ ,जोसेफ राई, मदन राना लगायतले बोलेका थिए । थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गरेका थिए ।





























प्रतिक्रिया