बोलिभियामा विपक्षी नेत्री सिनेटर जेनिन एन्जले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन्।
शनिबार सेना र प्रहरीको दबाबपछि एभो मोरालेसले राष्ट्रपतिबाट राजीनामा दिएर मेक्सिकोमा शरण लिन गएपछि विपक्षी नेत्री जेनिनले मंगलबार आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी हुन्।
बीबीसीका अनुसार जेनिनले संविधान अनुसार आफैंलाई राष्ट्रपति घोषणा गरेको बताउँदै उनले बोलिभियामा चाँडै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
मंगलबार सिनेटमा मोरालेसका पार्टीका विधायक उपस्थित थिएनन्। उनीहरूले जेनिनको कार्य असंवैधानिक भन्दै विरोध गरेका छन्।
हाल मोरालेस मेक्सिकोमा छन्। मेक्सिकोले मंगलबार मोरालेसलाई राजनीतिक शरण दिएको बताउँदै बोलिभियामा सैन्य कु भएको बताएको थियो।
विपक्षी नेत्रीले आफैंलाई राष्ट्रपति घोषणा गरेपछि मेक्सिकोबाटै मोरालेसले जेनिन ‘कु लाई बढावा दिने नेत्री’ भएको टिप्पणी गरेका छन्।
लगातारको प्रदर्शनपछि बोलिभियाका राष्ट्रपति एभो मोरालेसले शनिबार राजीनामा दिएका थिए। सन् २००६ देखि सत्तामा रहेका मोरालेसमाथि विपक्षीले चुनावमा धाँधली गरेको आरोप लगाएका छन्।
मोरालेस र उपराष्ट्रपति अल्भारो गार्सिया लिनेराले राष्ट्रलाई शनिबार सम्बोधन गर्दै रक्तपात रोक्नका लागि राजीनामा दिएको बताएका थिए। आफूहरुविरुद्ध कु गरिएको उनीहरूको आरोप छ। मोरालेस बोलिभियाको पहिलो आदिवासी राष्ट्रपति थिए ।





























प्रतिक्रिया