संविधान दिवस हेर्न पुगेका सर्वसाधारणलाई प्रहरीले रोकेपछि…(भिडियो सहित)

संविधान दिवस हेर्न पुगेका सर्वसाधारणलाई प्रहरीले रोकेपछि…(भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् ।

सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आव्हान गरिरहेका बेला राजधानीका टुँडिखेलमा विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाटै बञ्चित भएका हुन् । मुल कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउदै हटाएपछि सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाट बञ्चित भएका हुन् ।

राष्ट्रप्रमुख, सरकार प्रमुख , उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख ,राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको टुंडिखेल भित्र आयोजित विशेष कार्यक्रममा सर्वसाधरणले प्रवेश त पाएनन् नै सुरक्षाकर्मीले पर्खालमा बसेर हेर्न पनि दिएनन् । सबैलाई सहभागी भएर हर्षोल्लास पुर्वक संविधान दिवस मनाउन उर्दी पनि जारी गर्ने अनि कार्यक्रममा सहभागी हुन गएका सर्वसाधरणलाई कार्यक्रम हेर्नबाटै रोक्ने सरकारको व्यवहारले सर्वसाधरणलाई निकै दुखि बनायो ।

कार्यक्रम स्थलमा प्रवेश गर्न नपाएपछि तेह्थुम सोल्मा गाविस वडा नम्बर ७ की पार्वती कार्कीको मन पनि सार्है दुखायो । उपचारका लागि राजधानी आएकी पार्वती सरकारले आव्हान गरेको संविधान दिवसको कार्यक्रममा सहभागी भई हर्षोल्लास साट्नुको साथै केही अनुभव पनि बटुल्न चाहन्थीन् तर पर्खालबाहिर बसेर पनि हेर्न नपाएपछि निकै दुखि भईन् ।

बुढानिलकण्ठकी कमला बोहरा छोराछोरीलाई लिएर ऐतिहासिक महत्वको संविधान दिवसको कार्यक्रम देखाउन आईन् तर हेर्न पाईनन् । उल्टै सवारीको समय भयो भन्दै सुरक्षाकर्मीले झण्डै डेढघण्टा जहाँको त्यही रोकिदिए । विराटनगरका गुरु अधिकारी र कृष्ण दाहालको अवस्था पनि उस्तै रह्यो । कार्यक्रम स्थलमा छिर्न त पाएनन् नै पर्खाल बाहिर बसेर पनि हेर्न नपाएपछि सडकमै बसेर आखा तन्काई तन्काई हेर्न बाध्य भए ।

सानोठिमीका महेश दाहाल भने कार्यक्रम स्थलमा प्रवेश नपाएकोमा दुखी त हुनुभएन तर संविधान दिवस मनाए जसरी नै सरकारले संविधानमा निहित नागरिकको अधिकार प्रत्याभुत गर्न सक्नुपर्ने धारणा राखे ।

थप भिडियोमा 

Logo