नेपाल वायु सेवा निगमलाई सार्वजनिक कम्पनी मोडलमा लैजान सुझाव

नेपाल वायु सेवा निगमलाई सार्वजनिक कम्पनी मोडलमा लैजान सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अर्बौको घाटामा रहेको नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्य दलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई सो निगमको सुधारका लागि सुझाव दिन गठित कार्य दलले आफ्नो प्रतिवेदन बुझाएको हो ।

पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको ५ सदस्यीय कार्य दलले मन्त्री भट्टराईलाई सिंहदरबारमा बुझाएको प्रतिवेदनमा निगमको वित्तिय सुधारका लागि तत्काल पहल गर्न सरकारलाई सुझाव दिइएको छ ।

त्यसैगरी रणनीतिक साझेदार तत्काल खोजी गरी निगमको व्यवस्थापनलाई चुस्त बनाउन पनि सुझाव दिइएको कार्य दलका संयोजक घिमिरेले जानकारी दिए ।

प्रतिवेदनमा नेपाल वायु सेवा निगम राष्ट्रका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक कम्पनीको मोडलमा अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ ।

प्रतिवेदनमा निगम पदाधिकारीको नियुक्तीमा सरकारले गरेको कमजोरीका कारण पनि सो निगममा सुधार हुन नसकेको निष्कर्ष पनि निकालिएको छ । कार्य दलले निगमको नोक्सान हाल ५ अर्व २१ करोड ७६ लाख रहेको तथा ४० अर्ब ऋणको पनि व्ययभार रहेको पनि जनाएको छ ।

निगमसँग आन्तरिक उडानका लागि ९ वटा र अन्य ४ वटा एयर बस विमान रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । संयोजक घिमिरेले निगमसँग ३ अर्व ६० करोड ७० लाख जिन्सी सम्पत्ति रहेको पाइएको पनि बताउए ।

यता, प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईले कार्य दलको प्रतिवेदनलाई सरकारले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए ।

उनले सार्वजनिक कम्पनी अन्तरगत नयाँ रणनीतिक साझेदार समेत भित्र्याएर निगमको व्यवस्थापनलाई अघि बढाउने विषयमा सरकार पनि गम्भिर रहेको बताए ।

त्यसका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पार्न केही समय लाग्ने मन्त्री भट्टराईको भनाई छ । मन्त्री भट्टराईले निगमलाई सुधार गरेर नेपालमा पर्यटक भित्र्याउन सरकार सदा प्रतिवद्ध रहेको बताए ।

Logo