हाडीगाउँ क्षेत्रका सम्पदाहरूको पुरातात्विक तथा ऐतिहासिक महत्वको चर्चा

हाडीगाउँ क्षेत्रका सम्पदाहरूको पुरातात्विक तथा ऐतिहासिक महत्वको चर्चा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
हाँडीगाउँ क्षेत्रको संस्कृति, सम्पदा र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आइतबार एक कार्यशाला गोष्ठी आयोजना गरियो । विशालनगर हाँडीगाउँ सम्पदा समाज र काठमाडौं महानगरपालिका वडा नं. ५ को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हाँडीगाउँ आसपासका क्षेत्रका जीर्ण सम्पदा–संरचनाहरू जीर्णोद्वारका लागि महानगरपालिकाले यसै आर्थिक वर्षदेखि कार्य थालनी गर्न लागेको र केही योजनाहरूको निर्माण प्रक्रिया शुरू समेत भैसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्राज्ञ डा.दिनेशराज पन्तले हाडीगाउँ क्षेत्रका सम्पदाहरूको पुरातात्विक ऐतिहासिक महत्वको चर्चा गर्दै त्यस्ता ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको प्रचार प्रसार मार्फत् हाँडीगाउँमा आन्तरिक र बाह्य पर्यटकको वृद्धि गराउन सकिने बताउनु भएको थियो । त्यसका लागि पूर्वकालमा जेसुकै भएपनि अबका दिनमा ती सम्पदाहरूलाई कसरी संरक्षण गर्ने र तिनलाई बढी बिग्रन नदिने ढंगबाट काम गरिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रा.डा. यज्ञनाथ आचार्य र प्रा.डा.सुदर्शनराज तिवारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । डा.यज्ञनाथ आचार्यले ‘हाँडीगाउँ सम्पदा, संरक्षण र विकास’ शीर्षकको आफ्नो कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाको वडा नं. ५ क्षेत्र लिच्छवीकालदेखि नै ऐतिहासिक सम्पदामा धनी रहेको कुरालाई विभिन्न प्रमाणहरू प्रस्तुत गर्दै पुष्टि गर्नुभएको थियो । आफ्नो अस्तित्वकालदेखि नै शान्तिभूमि, देवस्थल, तपोभूमि र मुक्तिसोपानको नामले परिचित काठमाडौं उपत्यकाको काठमाडौं महानगरपालिका अन्तर्गतको वडा नं. ५ क्षेत्रका संपदाहरूको संरक्षण गर्न विभिन्न अल्पकालीन–दीर्घकालीन कार्यहरू सम्पन्न गरिनुपर्ने सुझाव उहाँले दिनुभयो ।

कार्यक्रममा ‘हाँडीगाउँमा पर्यटनको विकास’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा.सुदर्शनराज तिवारीले हाँडीगाउँमा सांस्कृतिक सम्पदामा आधारित पर्यटनको संभावनालाई पहिल्याउने तथा त्यहाँको सम्पदा र पर्यटकीय गतिविधिमा समुदायको सहभागिता बारेका आधारहरू प्रस्तत गर्नुभएको थियो । आचार्य र तिवारीको कार्यपत्रमा विभिन्न वक्ताहरूले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नं ५ का प्रदेश सांसद नारायण सिलवालले हाँडीगाउँ लिच्छवीकालदेखिकै ऐतिहासिक सभ्यताहरूको प्रचुरता रहेको स्थान भएको चर्चा गर्दै तिनलाई पर्यटकीय गन्तव्यकै रूपमा विकास गर्नेगरि संरक्षण गरिनुपर्ने बताउनुभयो । उहाँले यसै आर्थिक वर्षमा केही महत्वपूर्ण सम्पदाहरू निर्माणका कामहरू सम्पन्न भैसक्ने बताउनुभयो । हाँडीगाउँ क्षेत्रमा भाटभटेनी, मनमानेश्वरी, टुँडालदेवी, मनमानेश्वरी, लिच्छवीकालीन सत्यनारायण, धनगणेश लगायतका थुप्रै ऐतिहासिक–पुरातात्विक महत्वका सम्पदाहरू रहेका छन् । झण्डै पन्ध्र सय वर्ष अघि राजा अंशुवर्माले निर्माण गरेको ऐतिहासिक र महत्वपूर्ण कैलाशकूट दरबार पनि यसै क्षेत्रमा अवस्थित रहेको विभिन्न प्रमाणहरूले पुष्टि गरेका छन् ।

Logo