काठमाडौँ,
नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात हुने गर्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो । भारत, चीन लगायतका देशबाट अहिले वार्षिक अर्बौं रुपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब २१ करोड ९२ लाख ७० हजार रुपैयाँबराबरको सुकेको गुन्द्रुक आयात भएको छ । सुकेको खुर्सानी ९० प्रतिशत भारत लगायतका देशबाट आयात गरिन्छ ।
बजारको माग अनुसार कृषिजन्य वस्तु उत्पादन गर्न नसक्दा यो स्थिति आएको हो । कृषि पेसालाई सम्मानजनक रूपमा नलिइँदा धेरै युवा रोजगारीका लागि बिदेसिन थालेपछि भूमि बाँझो हुने र उत्पादनमा कमी आएकाले आयात गर्नुपर्ने स्थिति आएको हो ।
हालसम्म तीव वटा वस्तुमा मात्र मुलुक आत्मनिर्भर छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार अन्डा, कुखुराको मासु र बंगुरको मासुमा नेपाल आत्मनिर्भर बनेको हो । सरकारी तथ्यांक अनुसार नेपालमा उत्पादन हुने कागतीको हिस्सा पाँच प्रतिशत मात्रै छ । ९५ प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । यसैगरी, प्याजको आन्तरिक उत्पादन ५ प्रतिशत मात्र छ । ९५ प्रतिशत विदेशबाट आयात नगरी सुखै छैन ।
यसैगरी, फलफूल आयात ७० प्रतिशत र आन्तरिक उत्पादन ३० प्रतिशत छ । प्रमुख तरकारी तथा फलफूलको आन्तरिक उत्पादन ६० प्रतिशत छ भने विदेशबाट ४० प्रतिशत आयात गर्नुपर्ने बाध्यता छ । अन्य फलफूल ३० प्रतिशत आन्तरिक उत्पादन छ भने ७० प्रतिशत विभिन्न देशबाट आयात हुने गरेको छ । सरकारी तथ्यांक अनुसार बजारमा दैनिक एक हजारदेखि १२ सयको हाराहारीमा खसीबोका माग भए पनि आन्तरिक उत्पादन ३ सयदेखि ४ सय वटा छ । आन्तरिक उत्पादनले बजारको माग पूरा गर्न नसकेपछि दैनिक बाहिरबाट ७ सयदेखि ८ सय वटा खसीबोका आयात हुने गरेको छ । यसैगरी, राँगा र भैसीको दैनिक माग ७ सयदेखि ८ सय छ ।
यसैगरी, माछाको आन्तरिक उत्पादन ४० प्रतिशत छ भने ६० प्रतिशत आयात गर्नु परेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा कृषिजन्य खाद्यवस्तुमा मात्र १ खर्बभन्दा बढीको आयात भएको छ । जसमा चामल मात्र ३२ अर्बको आयात भएको छ । यसैगरी, तरकारी २८ अर्बको आयात भएको छ भने खाने तेल ३७ अर्बको आयात भएको छ । यसैगरी, पशुजन्य वस्तु ६१ अर्ब ४३ करोड मूल्य बराबरको आयात भएको छ ।
राजधानीबाट





























प्रतिक्रिया