भक्तपुरमा उपत्यकाकै लामो झोलुंगे पुलको शिलान्यास

भक्तपुरमा उपत्यकाकै लामो झोलुंगे पुलको शिलान्यास

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,

सूर्यविनायक नगरपालिकामा काठमाडौं उपत्यकाकै लामो झोलुंगे पुल निर्माण हुने भएको छ । डोलिडारको एक करोडको लगानीमा सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं. १० चित्तपोल जोड्ने झोलुंगे पुल निर्माण हुने भएको हो । पुलको लम्बाइ २ सय २५ मिटर हुनेछ ।

यस क्षेत्रबाट सिंगो उपत्यका तथा करिब २२ वटा हिमाल हेर्न सकिने भएकाले देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास हुने विश्वास गरिएको छ । पुल निर्माणपछि कैलाशनाथ महादेवको मन्दिरमा आउने भक्तजनलाई सहज हुनेछ।

प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उक्त झोलुंगे पुलको बुधबार शिलान्यास गर्दै भक्तपुरमा अब धमाधम राष्ट्रिय गौरवका आयोजना निर्माण हुने बताए । उनले भने, ‘अबको तीन वर्षमा भक्तपुरको मुहार फेरिनेछ । भक्तपुरको विकास तीव्र गतिमा अगाडि बढेको छ । साना योजना मात्रै होइन, अब राष्ट्रिय गौरवका आयोजना धमाधम निर्माण हुनेछन् । ’

उनले भक्तपुरमा प्राणी उद्यान, आधुनिक वीर अस्पताल, अन्तर्राष्ट्रिय रंगशाला, आधुनिक सभागृह, चार हजार क्षमताको कभर्डहल, स्मार्ट सिटी, सडक, खानेपानी, ढल लगायतका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रक्रियामा रहेको बताउँदै यी आयोजनाले भक्तपुरको मुहार फेर्ने दाबी गरे । देशकै पर्यटकीय क्षेत्रको रूपमा भक्तपुरले आफ्नो छुट्टै पहिचान स्थापित गरेको उनले बताए। मानव निर्मित ताल बनाउने, साँगादेखि फुलचोकीसम्म पदमार्ग निर्माण गर्ने, काँक्राबारीलाई ‘अग्र्यानिक इको भिलेज’को रूपमा विकास गर्ने योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।
नागरिकबाट

Logo