सामान्य प्रशासनका कर्मचारीको भ्रमण मोह : एक वर्षमै १६७ विदेश पुगे

सामान्य प्रशासनका कर्मचारीको भ्रमण मोह : एक वर्षमै १६७ विदेश पुगे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन् । पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ । त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ । सो मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे ।

ती मध्ये चीन जानेको संख्या मात्र १ सय ४ छ । मन्त्रालयका अनुसार विदेश भ्रमणका लागि दुई कर्मचारीको भने मनोनयन पत्र आएन । मन्त्रालयले सार्वजनिक प्रशासन सम्बन्धी सेमिनार, बेल्ट एन्ड रोड सम्बन्धी सेमिनार, आपतकालीन सञ्चार, दिगो विकास, ग्रामीण विकास, स्थानीय निकायको क्षमता अभिवृद्धि लगायत विषयमा मन्त्रालय अन्तर्गत विभिन्न तहका कार्मचारी चीन पुगेको बताएको छ ।

विश्वका विभिन्न राष्ट्रहरू धमाधम खुला र प्रतिस्पर्धात्मक राजनीतिमा होमिँदै गर्दा चीन भने सन् १९४९ मा एकदलीय शासन प्रणालीमा प्रवेश गरेको थियो । त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीले मुलुकको शासनसत्ता हातमा लिएको थियो। पश्चिमा मुलुकहरूलाई केही समय प्रवेशमा रोक लगाएको उसले आर्थिक विकास र समृद्धिमा आफूलाई अब्बल साबित गरिसकेको छ । शक्ति राष्ट्रहरूलाई चुनौती दिँदै चीन आफूलाई सबैभन्दा शक्तिशाली राष्ट्रका रूपमा आफूलाई प्रस्तुत गर्ने क्रममा छ ।

उसले गरेको अद्भूत विकासले विश्वलाई लोभ्याएको छ । चीन आफूले गरेको प्रगति विश्वलाई देखाउन जसरी आतुर छ, त्यसरी नै अन्य मुलुकका नागरिकहरू पनि चीन पुग्न लालायित छन्। त्यसकारण नेपालबाट पनि धेरै कर्मचारी विभिन्न अवसर पारेर चीनको भ्रमणमा निस्कने गर्छन् । चीनप्रतिको आकर्षण संघीय मामिला मन्त्रालयमा मात्र सीमित छैन, अन्य मन्त्रालयका कर्मचारी, राजनीति दलका नेता–कार्यकर्ता, उद्योगी–व्यवसायी, समाजसेवी र पत्रकारको संख्या पनि उस्तै छ ।

संघीय मन्त्रालयकै विवरण अनुसार अर्को छिमेकी मुलुक भारतमा एक वर्षमा १९ कर्मचारीले मात्र भ्रमण गरेका छन् । चीनपछि सबैभन्दा धेरै ४१ जना कर्मचारी जापान पुगेका छन् । जापानको क्षेत्रीय विकास, ग्रामीण विकास, विपद् नियन्त्रण, समुदायमा आधारित विकास लगायत शीर्षकमा सामान्य प्रशासन तथा स्थानीय तहका कर्मचारी तथा पदाधिकारीले जापान भ्रमण गरेका हुन् ।
नागरिकबाट

Logo