निर्मला काण्डको एक वर्षमा कांग्रेसले देखायो सरकारलाई ऐना

निर्मला काण्डको एक वर्षमा कांग्रेसले देखायो सरकारलाई ऐना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । एक वर्ष पुगेको अवसरमा नेपाली कांग्रेसले सरकारमाथि गम्भीर आरोप लगाएको छ । बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै कांग्रेसले सरकारमाथि विभिन्न सात आरोप लगाएको हो । उक्त घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेसले निर्मलाका आमाबुवा लगायत परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘एकवर्षका बीचमा दोषीको पहिचान हुन नसक्नु दुःखद त छ नै, यस्तो प्रकृतिको घटना झनै बढेर जानु अझ दुःखद छ । प्रमुख प्रतिपक्षी दलका रुपमा नेपाली कांग्रेसले यो र यस्ता घटना बारे संसद, मिडिया र सार्वजनिक कार्यक्रम लगायत विविध माध्यमबाट निरन्तर आवाज उठाउँदै आएको छ ।’

‘निर्मला प्रकरण एकवर्ष पुगिरहँदा नेपाली कांग्रेस यस सम्बन्धमा श्रृखंलावद्ध ढंगले भएको सरकारी कृयाकलापको वास्तविक दृश्य चित्र राख्दै सरकारलाई ऐना देखाउन चाहन्छ’ विज्ञप्तीमा भनिएको छ ।

निर्मला पन्त प्रकरणको एकवर्षमा — नेपाली कांग्रेसको ७ वुँदे विज्ञप्ति

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज साउन ९ गते एकवर्ष पुरा भएको छ । यो घडी उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेस निर्मलाका मातापिता लगायत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

एकवर्षका बीचमा दोषीको पहिचान हुन नसक्नु दुःखद त छ नै, यस्तो प्रकृतिको घटना झनै बढेर जानु अझ दुःखद छ । प्रमुख प्रतिपक्षी दलका रुपमा नेपाली कांग्रेसले यो र यस्ता घटना बारे संसद, मिडिया र सार्वजनिक कार्यक्रम लगायत विविध माध्यमबाट निरन्तर आवाज उठाउँदै आएको छ । निर्मला प्रकरण एकवर्ष पुगिरहँदा नेपाली कांग्रेस यस सम्बन्धमा श्रृखंलावद्ध ढंगले भएको सरकारी कृयाकलापको वास्तविक दृश्य चित्र राख्दै सरकारलाई ऐना देखाउन चाहन्छ ।

१. दोषी जोगाउने प्रपन्च
निर्मला पन्तको शव भेटिएको स्थलमा रहेका तथ्यहरु सुरक्षित ढंगले संकलन गरिनु पर्नेमा प्रमाण नष्ट गर्ने ढंगले कपडा लगायत धोइनु दोषी जोगाउने प्रपन्चको खुलेआम प्रस्तुति नभई के थियो भन्ने जवाफ आजसम्म प्राप्त छैन ।

२. निर्दोषलाई दोषी ठहर्‍याउने प्रयत्न
घटनाको केही दिनपछि दोषीका रुपमा सार्वजनिक गरिएका दिलिपसिं विष्ट मानसिक सन्तुलन गुमाएको नागरिक रहेका सत्य खुल्यो । केही महिनापछि सरकारको ठम्याइएका दोषी १८ वर्षे विशाल चौधरी घटना भन्दा दुईदिन अघि कुखुरा चोरीको अभियोगमा कञ्चनपुर हिरासतमै रहेको तथ्य खुल्यो ।

३. जनप्रदर्शनमा मारिए बालक
दोषीमाथि कार्वाहीको माग गर्दै कञ्चनपुरमा भएको जनप्रर्दशनलाई संयमतापूर्वक विश्वासमा लिनु भन्दा सरकारले दमनको नीति अख्तियार ग¥यो । प्रहरीको गोली लागेर कलिला बालक सनि खुना मारिए । दर्जनौ घाइते भए ।

४. गैह्र जिम्मेवार अभिव्यक्तिहरू
यो प्रकरणमा सरकार एक्सनमा कम भाषणमा बढी भेटियो । स्वयं प्रधानमन्त्रीकै विवादास्पद अभिव्यक्ति टेलिभिजन अन्तरवार्ता मार्फत आयो भने वर्षदिन पुग्नै लाग्दा गृहमन्त्रीको जिम्मेवार ओहोदाबाट गैह्र जिम्मेवार विचार प्रस्तुत भयो ‘यस्तो विगतमा पनि भयो, आज पनि भइरहेको छ र भविष्यमा पनि हुनेछ’ । नेपाली कांग्रेस प्रश्न गर्न चाहन्छ संवेदनशील घटनामा यस्तो ढंगको अभिव्यक्ति राख्नु मानवीय कोणबाट न आपत्तिजनक छ नै, जिम्मेवार राज्यको अभिमत के यस्तो हुन मिल्छ ?

५. प्रहरीलाई बदनाम गराउने षडयन्त्र 
अपराध अनुसन्धानको दक्षताका दृष्टिले दक्षिण एशियामा अग्रपंक्तिमा नाम आउने नेपाल प्रहरी यो प्रकरणमा असफल भएको हो या सरकारको नियतवश सफल हुन नदिइएको हो ? यो गम्भीर प्रश्न वर्षदिन पुगिरहँदा हामी यसकारण उठाइरहेका छौं किनकि यो प्रकरणमा सरकारले प्रस्तुत गरेको व्यवहार प्रहरीलाई सफल बन्न दिनेतर्फ कम घटनाको ढाकछोप गर्ने नियततर्फ विशेष सर्तकता देखियो ।

६. सरकार असफल
अन्ततः एक वर्षको संक्षिप्त निष्कर्ष हो सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल भएको छ र यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्न समेत असफल भएको छ ।

७. गम्भीर वहसको खाँचो 
निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैह्र जिम्मेवार जवाफ दिएर सरकारको कर्तव्य पुरा हुन्न । निर्मला प्रकरण वर्षदिन पुगिरहँदा नेपाली कांग्रेस यस्तो जघन्य अपराधका पछिल्तिरको सामाजिक मनोविज्ञान, प्रशासनिक कमजोरी, कानूनी सचेतताको व्यापकता, राज्यको गहन जिम्मेवारी, राजनैतिक दलहरुको साझा कर्तव्य र संचार माध्यम लगायत सिंगो समाजको भूमिका एवं दायित्व बारे विशेष बहषको आवश्यकता औल्याउन चाहन्छ । निर्मला पन्तको आत्मालाई शान्तिको कामना यही इमानदार प्रयत्नबाट मात्रै हुन सक्दछ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता

 

Logo