उपत्यकाका सम्पदा खतराको सूचीमा पर्नबाट जोगियो

उपत्यकाका सम्पदा खतराको सूचीमा पर्नबाट जोगियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सूचीकृत सम्पदाको पुनःनिर्माण आगामी सन् २०२२ सम्ममा सम्पन्न गरिसक्ने सर्तमा ती सम्पदा खतराको सूचीबाट टरेको छ । राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सम्पदाको पुनःनिर्माणमा बेवास्ता जनाएको भन्दै खतराको सूचीमा सूचीकृत गर्ने चेतावनी दिएको थियो ।

युनेस्कोको विश्व सम्पदा समितिको हालै सम्पन्न बैठकले आगामी तीन वर्षभित्र उपत्यकाका सातवटै सम्पदालाई पूर्ववत् अवस्थामा फर्काउन सके खतराको सूचीमा नराख्ने भनेपछि ठूलो राहत भएको छ ।

पुरातत्व विभागको विश्व सम्पदा महाशाखाका प्रमुख डा. सुरेशसुरस श्रेष्ठले आगामी सन् २०२२ सम्ममा सबै सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्नु पर्ने सर्तमा खतराको सूचीमा सूचीकृत नगर्ने निर्णय भएको बताउँदै भन्नुभयो, “त्यतिन्जेल सम्ममा पुनःनिर्माणका काम सक्नु पर्नेछ । अब कुनै पनि कारणले पुनःनिर्माण कार्य रोकिनु हुँदैन ।”

भूकम्पका कारण विश्व सम्पदा क्षेत्रका १४० वटा संरचना भत्किएकोमा हालसम्म ९४ वटाको पुनःनिर्माण भइसकेको छ । अजरबैजानको बाकुमा भएको विश्व सम्पदा समितिको ४३ औँ बैठकमा नौ तल्ले दरबारको पुनःनिर्माण कार्यको खासै प्रगति नभएको विवरण प्रस्तुत गरिएपछि समितिका सदस्य चीनका प्रतिनिधिले सो गलत भएको भनेपछि नेपाललाई सजिलो बनेको थियो । सन् २०१५ मा सरकारले पाँचदेखि सात वर्षसम्ममा पुनःनिर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको हुनाले बैठकले सन् २०२२ सम्मको समयावधिलाई स्वीकार गरेको थियो । उहाँले यसै वर्ष युनेस्कोबाट पुनःनिर्माणको प्रगतिबारे अनुगमन गर्न टोली आउनेसमेत जानकारी दिनुभयो ।
गोरखापत्रबाट

Logo