महिला लिग फुटबल : नेपाल पुलिसद्वारा चन्द्रपुर पराजित

महिला लिग फुटबल : नेपाल पुलिसद्वारा चन्द्रपुर पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३–१ को जित निकालेको हो । पुलिसलाई जीत दिलाउन निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गरे । चन्द्रपुरकी सबिता राना मगरले एक गोल फर्काइन् । २७ औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । निरु थापाको हेड बल पोस्टमा लागेर फर्किएको बललाई निर्मलाले जाली चुमाएकी थिइन् ।

३९ औं मिनेटमा पुलिसका गोलरक्षक सपना राईको गल्तीमा चन्द्रपुरले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएको थियो । पहिलो हाफमा १–१ को बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पुलिसका लागि निरुले गोल गर्दै अग्रता २–१ मा पुर्याइन् । त्यसपछि खेलको इन्जुरी समयमा अनुष्काले गोल गर्दै पुलिसलाई ३–१ को जीत दिलाइन् । जीतसँगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ८ अंक जोडेको छ । छैटौं स्थानको चन्द्रपुरले ५ खेलमा ३ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर र आर्मी तथा दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी भिड्ने छन् ।

Logo