फेरि राजतन्त्र चाहियो भन्नेहरु मुर्ख हुनः प्रधानमन्त्री

फेरि राजतन्त्र चाहियो भन्नेहरु मुर्ख हुनः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई ‘मुर्ख’ को संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिब बनाउने राजतन्त्र फेरि चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिईरहेको उल्लेख गर्दै आपत्ति पनि जनाए ।

उनले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे । शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए ।

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिए । प्रधानमन्त्री ओलीले सरकार मुलुकको शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावी पनि गरे ।

प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानको बाटोमा सरकार लागि परेको बताए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारी समस्या समाधानका लागि नै सुरुवात गरिएको कार्यक्रम भएको प्रधानमन्त्री ओलीको स्पष्टिकरण छ ।

प्रधानमन्त्री ओलीले ४० लाख युवाहरु वैदेशिक रोजगारमा रहेकाले उनीहरुलाई देश भित्रै रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई सुरक्षा गर्नेगरी सरकारले आवश्यक सामाजिक सुरक्षाको प्रबन्ध गरिरहेको बताए । कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बेरोजगार युवाहरुलाई देशमै रोजगारीको अवसर सृजना गर्न सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू गरेको बताए ।

Logo