करोडपति बन्यो एमाले, गृहमन्त्री लामिछानेकाे बचाउमा ओली उत्रिँदा कांग्रेस झन् आक्रामक[भिडियोसहित]

करोडपति बन्यो एमाले, गृहमन्त्री लामिछानेकाे बचाउमा ओली उत्रिँदा कांग्रेस झन् आक्रामक[भिडियोसहित]

केन्द्रबिन्दु
9
Shares

गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउने नैतिक अधिकार कांग्रेससँग छैनः केपी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्ष दल नेपाली कांग्रेससँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन् । कांग्रेस अचानक सत्ताबाट बाहिरिनुपर्दा प्रतिशोधको राजनीतिमा पुगेको उनको भनाई छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कांग्रेसले एमाले(माओवादी नेतृत्वको गठबन्धन भत्काउन रास्वपालगायत केही दलहरूलाई प्रधानमन्त्रीको प्रस्तावसमेत गरेपनि नमानेपछि यो अवस्था आएको बताएका हुन् ।

अब बसिने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीविरुद्ध प्रमाणसहित उपस्थित हुन्छौंः विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित आफूहरु उपस्थित हुने बताएका छन् । इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताएका छन् । उनले भनेका छन् “गृह मन्त्रालयको विषयमा प्रश्न उठेपछि गृहमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिने हो । अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित होइन । सहकारी ठगीसँग सम्बन्धित मुद्दा हो ।” एउटा मालिकलाई चाहिँ पक्राउ गर्न रेड नोटिस अर्कालाई रेड कार्पेट ? एउटालाई प्रहरीले प्रक्राउ गर्नुपर्ने, अर्कालाई चाहिँ सलाम ठोक्नुपर्ने ?

यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको देश होः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने यो देश सतीले सरापेको देश नभइ केही जुकाहरूले चुसेको देश भएको आरोप लगाएका छन्। इलाममा आयोजित पत्रकार सम्मेलनमा उनले अब जुकाहरू फाले देश बन्छ, यो जनताले बुझ्ने कुरा भएको बताएका हुन्. । भाषण मात्र होइन, काम गर्ने व्यक्तिलाई मतदाताले चुनेर पठाउनुपर्ने उनको भनाई छ । टिङटिङ बज्ने घण्टीलाई भ्रष्टाचारीको मुटु काम्ने गरी ढ्याङढ्याङ बजाउन आवश्यक भएको पनि उनले बताए ।

सहकारी अनुगमनका लागि सरकारले गठन गरेको छानबिन आयोग भरपर्दो भएनः आरजु राणा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारले गठन गरेको छानबिन आयोग भरपर्दो नरहेको बताएकी छन् । शनिबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाएकी हुन् ।

एमालेको बैंक खातामा १२ करोड ६९ लाख रुपैयाँभन्दा बढी मौज्दात
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार प्रतिनिधि सभाको दोस्रो ठुलो राजनीतिक दल नेकपा एमालेको बैंक खातामा १२ करोड ६९ लाख रुपैयाँभन्दा बढी मौज्दात देखिएको छ । यो २०८० सालको असार मसान्तसम्मको अवधिको सम्पत्ति हो । यसबाहेक सोही अवधिसम्ममा एमालेसँग स्थिर तथा अन्य सम्पत्ति (भवन निर्माणसमेत) ५ करोड ९२ लाख ५४ हजार रुपैयाँ सम्पत्ति देखिएको छ । बैठकमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनअनुसार पार्टीका विभिन्न कोषमा ५ करोड १३ लाख रुपैयाँ रहेको छ ।

केही स्वार्थी मान्छे पार्टीलाई सिध्याउने खेलमा लागेः रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही स्वार्थी मान्छे पार्टीलाई सिध्याउने खेलमा लागेको बताएका छन्। शनिबार बिहान सामाजिक संजालमा लामो स्टाटस लेख्दै उनले आफू र पार्टी अध्यक्षसमेत रेहकी पत्नी रन्जिताबीचको सम्बन्धमा भाँजो हालेर नाउपा सिध्याउने प्रयत्न भइरहेको टिप्पणी गरेको हुन् । रन्जिता सोझी र अन्जान रहेको उनको भनाई छ । चौधरीले रन्जितालाई तिमी सिद्धिनु भनेको म सिद्धिनु हो भन्दै वार्तालाप गर्न आग्रह गरेका छन्।

अर्थमन्त्री पुन स्वदेश फर्किए
अमेरिकाको वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर अर्थमन्त्री पुन शनिबार स्वदेश फर्किएका छन् । मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेर आज स्वदेश फर्किएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरे
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे)लाई शनिबार जिम्मेवारी तोकेका हुन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी हाजिर गर्ने तर कार्यकक्षमा नभेटिए कारबाही गरिनेः स्वास्थ्य तथा जनसङ्ख्या
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ । सेवाग्राहीको बढ्दो गुनासोपछि आज मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने जनाएको हो । अबदेखि कार्यालयमा समयमा नभेटिने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई कानून बमोजिम कारवाही हुनेछ ।

चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गरः गोविन्द केसी
शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् । उनले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही र यसअघि आफूसँग गरिएका माग पूरा गर्न माग गरेका हुन । उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको ‘अल्टिमेटम’ समेत दिएका छन् ।

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ ।

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन गरे
रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म उनीहरुको परिवारका सदस्यले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले करार सम्झौता रद्द गरी उद्दारको पर्खाइमा रहेका नागरिकलाई पुनः युद्धमा लगिएको भन्दै तत्काल नेपाल फर्काउन माग गरेका हुन् ।

अमेरिकाले युक्रेनलाई राहत प्याकेज दिने
केही महिनाको ढिलाइपछि अमेरिकी प्रतिनिधि सभाले बल्ल युक्रेनलाई राहत प्याकेज दिने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । युक्रेनलाई अर्बौं डलरको राहत प्याकेज दिने प्रस्तावमाथि आज अमेरिकी संसदमा प्रस्ताव पेश हुने बीबीसीले जनाएको छ । साथै, यो प्रस्तावमा इजरायललाई पनि राहत प्याकेज उपलब्ध गराउने विषय समावेश रहेको छ ।

लण्डन म्याराथनमा कुशल दीक्षित छनोट
विश्व चर्चित लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट ललितपुर पाटनका २० वर्षीय धावक कुशल दीक्षित छनोट भएका छन् । विश्वको खेलकुद इतिहासमा लण्डन म्याराथन दौड प्रतियोगितामा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धीका रूपमा लिइन्छ । लामो दूरीको दौडतर्फ विश्वभर चर्चित लण्डन म्याराथन प्रतियोगिता भोलि लण्डनमा हुँदैछ । प्रतियोगितामा भाग लिन विश्वका ५० हजार जनाभन्दा धेरै युवा धावक लण्डन पुगिसकेका छन् ।

Skip This
Skip This
Logo