भैरहवा,
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ (भैरहवा) का २२ वर्षीय मोहम्मद कलामुद्दिन मुसलमान वैशाख ५ गतेबाट परिवारसँग सम्पर्कविहीन भए । उनी यस अघि पनि घरबाट निस्किएको हप्तौँ दिनसम्म घर आउँदैनथे ।
यसपटक घरबाट निस्किएको एक महिना पुग्न लागेको थियो । परिवारले पनि खासै चासो राखेका थिएनन् । तर जब परिवार सदस्यको मोबाइलमा मोहम्मद अपहरणमा परेको म्यासेज आयो तब परिवार झस्कियो ।
मोहम्मदको मोबाइल नम्बरबाट उनको भाउजूको नम्बरमा मोहम्मद अपहरणमा परेको भन्दै म्यासेज मार्फत फिरौती रकम माग गरियो । म्यासेजमा ‘मलाई अपहरण गरेर अध्याँरो ठाउँमा राखिएको छ, दुई लाख रुपैयाँ पठाइदिनुपर्यो’ उल्लेख थियो ।
म्यासेज आए लगत्तै परिवारले प्रहरीलाई सम्पर्क गर्यो । परिवारसगँ सबै विवरण लिएर प्रहरीले तत्काल खोजी सुरु गर्यो । प्रहरीले त्यही फिरौती मागिएको मोहम्मदको नम्बरबाट अनुसन्धान सुरु गर्यो। मोबाइलको ‘लोकेसन’ भैरहवास्थित सिद्धार्थ रंगशाला क्षेत्रमा देखायो । प्रहरी टोली तत्काल रंगशाला क्षेत्रमा खोजतलासका लागि मुभ भयो । त्यहाँ त्यस्तो कुनै अपहरण गतिविधि पाइएन । मोहम्मद पनि फेला परेनन् ।
यता प्रहरीले खोजतलास जारी राख्यो । उता समय समयमा अन हुने मोबाइलमा प्रहरीले परिवारलाई पुनः म्यासेज पठाउन लगाउँदै रकम बार्गेनिङ गर्न लगायो । फिरौती रकम २ लाख रुपैयाँबाट ५० हजारमा झरेपछि अपहरण नभई अपहरणको नाटक रचिएको हुन सक्ने अवस्थामा पुगिएको रुपन्देहीका एसपी हृदय थापाले बताए ।
‘मोहम्मद आफैले आफ्नो अपहरणको नाटक रचेको भन्ने अवस्थामा पुगिसकेका थियौँ’ रुपन्देहीका एसपी थापाले भने, ‘तर, समस्यामा नै परेको हो भने उनलाई सकुशल उनको परिवारको जिम्मा लगाउनु हाम्रो कर्तव्य रहेको कारण हामी पछि हटेनौँ ।’
मोबाइल कुरा गर्न नमान्ने मोहम्मदले टेक्स्ट् म्यासेजमा मात्र कुरा गर्थे । ५० हजार दिन तयार रहेको तर कहाँ, कसरी पठाउने भन्दै प्रहरीले पुनः परिवारलाई म्यासेज गर्न लगायो । उताबाट म्यासेज आयो, भोलि भन्छु । यत्तिका दिन भैरहवा रहेका मोहम्मदको मोबाइल लोकेसन अर्को दिन पोखरा क्षेत्रमा देखायो । त्यहाँ उनले विगतमा आफ्नो परिचित व्यक्ति डण्डापाणी खनाललाई भेटे । उनकै घरमा बास बसे, खाना खाए ।
उता मोहम्मदले खनालसँग रकम मगाएको तर परिचयपत्र नभएकाले उनीसँग उनको नागरिकता नम्बर माग गरे । रुपन्देहीका डीएसपी एवं प्रवक्ता धर्मराज भण्डारीले भने, ‘यता मोबाइलमा डण्डापाणी खनालको नाममा आइएमईमार्फत् पैसा पठाइदिनु भन्दै ठेगाना र मोबाइल नम्बर म्यासेजमा पठाए ।’
त्यती बेलासम्म रुपन्देही प्रहरीले कास्की प्रहरीलाई सम्पर्क गरिसकेको थियो । उताबाट पनि प्रहरी टोली तयारी अवस्थामा थियो । भैरहवाबाट डण्डापाणी खनालको नाममा ५० हजार रुपैयाँ पठाइयो । र अपहरणको नाटक गरेर पैसा निकाल्न गएका मोहम्मद अन्ततः प्रहरी फन्दामा परे । पक्राउ परेका मोहम्मदलाई सार्वजनिक मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया