आठौं राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न

आठौं राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज

दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका बीच आठौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा कार्यकारी समितिका संयोजक केशवकुमार विष्टले गण्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं संस्करणको आयोजनाका लागि झन्डा हस्तान्तरण गरेका थिए ।

हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको सातौं संस्करण २०७३ पुसमा पूर्वाञ्चलमा आयोजना भएको थियो । सातौंकै समापनमा प्रदेश ५ ले आठौं राष्ट्रिय प्रतियोगिताको जिम्मेवारी पाएको थियो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरानमा गरिएको भद्र सहमति अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको जिम्मा गण्डकी प्रदेशलाई दिइएको सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए । बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले २०७७ फागुन २० देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज रंगशालामा आयोजित समापन कार्यक्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय प्रतियोगिता खेलकुदका लागि महोत्सव भएको बताउँदै यसले हजारौं खेलाडीको भविष्य निर्धारण गर्ने बताए । उनले आठौंको समापन नै नवौं राष्ट्रिय खेलकुदको तयारी भएकाले यसमा जुट्न सबैलाई आग्रह गरे ।

पदक तालिकामा आर्मीको वर्चस्व

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीले वर्चस्व जमाएका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफले शीर्ष तीन स्थान हात पारेका छन् । प्रतियोगितामा सर्वाधिक १२ स्वर्ण आर्मीकी गौरिका सिंहले जितिन् । पदक तालिकामा पहिलो स्थान हात पारेको आर्मीले प्रतियोगिताको तीन सय ७२ मध्ये एक सय ४० स्वर्ण जित्यो । यस्तै ८१ रजत र ६७ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्न सफल भयो ।

यसैगरी दोस्रो स्थानमा रहेको पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्य तथा तेस्रो भएको एपीएफले ५३ स्वर्ण, ७० रजत र ८१ कांस्य प्राप्त ग¥यो । विभागीय टोलीपछि सर्वाधिक पदक प्रदेश ३ ले जित्यो । प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कांस्य प्राप्त ग¥यो । सबैभन्दा अन्तिममा रहेको कर्णाली प्रदेशले तीन स्वर्ण, चार रजत र १७ कांस्य पदक जित्न सक्यो । प्रतियोगितामा पहिलो पटक सहभागी एनआरएनए टोलीले ६ स्वर्ण, पाँच रजत र पाँच कांस्य जित्यो ।
अन्नपूर्णबाट

Logo