राष्ट्रपति भण्डारी आज चीन जाँदै

राष्ट्रपति भण्डारी आज चीन जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार उत्तरी छिमेकी चीन प्रस्थान गर्दैछिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्न लागेको हो । अघिल्ला राष्ट्रपति डा. रामवरण यादव दुई पटक चीन भ्रमणमा गएपनि बेइजिङको आतिथ्य पाएका थिएनन् । बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ ।

अर्को छिमेकी भारतले नेपालमा गणतन्त्र आए लगत्तै चुनिएका राष्ट्रपतिलाई नयाँदिल्लीमा राजकीय सम्मान गरेको थियो । तर चीनले त्यही सम्मानका लागि झन्डै १० वर्ष लगाएको हो । चीनको उक्त स्वागतले नेपाल–चीन सम्बन्ध उचाइमा पुग्ने विश्वास सरकारले लिएको छ ।

राष्ट्रपति भण्डारी बुधबार बिहान नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीनतर्फ जानेछिन् । उनी एक दिन सान्सी प्रान्तमा बस्नेछिन् । त्यो राष्ट्रपति सी चिनफिङको सहर हो । भण्डारी भोलिपल्ट बेइजिङ पुग्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन् । सम्मेलनको घोषणापत्रमा नेपाल मार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिनेछ ।
अन्नपूर्णबाट

Logo