खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकता राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकता राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले आगामी पेरिस ओलम्पिक, २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने उल्लेख गरे ।

उनले भने, “पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीहरूको प्रशिक्षण र सहभागीतालाई व्यवस्थित गर्न निर्देशन दिन्छु ।” साथै आगामी मंसिरमा कर्णालीमा हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न निर्देशन दिए । उनले युवा स्वरोजगारलाई व्यवस्थापन गर्न नेपाली युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय गरेर नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री चौधरीले वर्षाका कारण देशभर भएका विपद्का घटनामा नेपाल स्काउटका स्वयंसेवक तथा खेलाडीलाई परिचालित भएर तत्काल राहत तथा उद्धारमा खटिन निर्देशन दिए ।

उनले खेल सङ्घमा देखिएको विवादलाई टुङ्ग्याएर खेल क्षेत्रमा सकारात्मक सन्देशका लागि पहल गर्ने प्रतिबद्धता जनाए । “विभिन्न खेल सङ्घमा देखिएका विवादलाई समयमै टुङ्ग्याएर खेल क्षेत्र एकजुट छ भन्ने सन्देश दिन जरूरी छ”, उनले भने, “त्यसको पहल गर्न राष्ट्रिय खेलकुद परिषद्लाई विशेष निर्देशन दिन्छु ।”

राष्ट्रिय खेलकुद परिषद्मा प्राविधिक जनशक्तिको अभाव भएको विषयमा आफू जानकार रहेका कारण यसमा पनि आफ्नो विशेष पहल रहने उनको भनाइ थियो ।

Logo