एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, मर्मतका लागि छैन चासो

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, मर्मतका लागि छैन चासो

केन्द्रबिन्दु
36
Shares

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा करिब एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध छ ।

यति लामो सयमसम्म सेवा सञ्चालन नहुँदा स्थानीय सञ्चार सुविधाबाट बञ्चित भएका छन् । यहाँको ठानाकोटमा रहेको नेपाल टेलिकमको टावरमा समस्या हुँदा सेवा अवरुद्ध भएको र विशेषगरी खार्पुनाथ गाउँपालिकाका चार वडाका सेवाग्राही मर्कामा परेका स्थानीय टेक बुढाले जानकारी दिए । महिना दिनदेखि टेलिफोन सेवाले नहुँदा यहाँका नागरिकले जिल्ला बाहिर र सदरमुकामलगायत छिमेकी गाउँपालिकामा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको उनले गुनासो गरे ।

टावर मर्मतका लागि नेपाल टेलिकम कार्यालय हुम्लालाई वडाध्यक्ष च्यागा बोहराले ध्यानाकर्षण गराएका थिए । टेलिकमले हप्ता दिनभित्र मर्मतका लागि कर्मचारी पठाउने प्रतिबद्धता जनाए पनि हालसम्म काम नभएको जनाइएको छ ।

नेपाल टेलिकम हुम्लाका निमित्त प्रमुख रिञ्जिन लामाले कर्मचारी अभाव र भएका कर्मचारी बिदामा रहेकाले मर्मत गर्न नसकिएको जवाफ दिए । अब केही दिनमै टावर मर्मत गरिने उनले बताए ।

यस्तै वडा नम्बर एक लाली, पिउस, वडा नम्बर दुई थाली, वडा नम्बर तीन राया, र वडा चार याङचु गाउँका सेवाग्राही पनि टेलिफोन सेवाबाट बञ्चित छन् । यहाँ सोलारका भरमा सेवा सञ्चालन हुने गरेको छ । तर सोलार पुराना भएकाले समस्या हुने गरेको स्थानीयले बताएका छन् । टावर रहेको स्थानसम्म विद्युत् पुगेको भए पनि टावरमा विद्युत् जडानका गरिएको छैन ।

Skip This
Skip This
Logo