काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विषेश समितिले आफूलाई लाग्दै आएको मूल आरोप पुष्टि हुने आधार नदेखिएको प्रतिवेदन दिए पनि केही सञ्चार माध्यमहरू भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन् ।
मंगलबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको तर गोर्खा मिडिया नेटवर्क सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गर्नु भनिएको सत्यलाई केही मानिसहरूले स्विकार्न नसकेको बताए ।
उनले भने, ‘हिजो भर्खरै संसदीय छानबिन समितिले आफ्नो छानबिन प्रतिवेदन बुझायो । त्यसमा मूल आरोपका बारेमा स्पष्टसँग मेरो संलग्नता नरहेको बतायो । तर, केही मानिसहरू मलाई डेढ वर्षदेखि सहकारी ठगीको आरोप लगाइरहेका थिए । समितिले यस किसिमको संलग्नतामा रवि लामिछानेको संलग्नता छैन भनेर स्पष्टसँग भनेको छ । तर भ्रमको खेती गर्नेहरूलाई त्यो स्पष्टतासँग सरोकार छैन । सहकारी ठगीमा, सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । पुष्टि हुन सकेन । त्यसपछि गोर्खा मिडिया नेटवर्कमा गएको पैसामा जिम्मेवार हुनुपर्छ, कारबाही भोग्नुपर्छ भनिएको छ । यति कुरा स्वीकार्न के गाह्रो कुरा भयो । अझ देशलाई भ्रममा पार्ने काम गरिएको छ । हामीलाई केही आपत्ति छैन ।’
कुनैदिन गोलीसँग नडराएर पुर्खाले देश जोगाएको उल्लेख गर्दै लामिछानेले आफूहरू गाली खान नडराउने स्पष्ट पारे । ‘मेरो केही चिन्ता छ । म सञ्चारकर्मी साथीहरूलाई यस राष्ट्रिय भेलाबाट अपिल गर्न चाहन्छु । देशको पत्रकारितालाई जोगाउनुस् । मलाई नंग्याउने निउँमा तपाईँहरू नाङ्गो नहुनुहोस्,’उनको भनाइ छ ।





























प्रतिक्रिया