काठमाडौं ।
एसियाली फुटबल महासंघ (एएफसी)को क्लब लाईसेन्सिङको प्रक्रियामा रहेको विभागीय टिम आर्मीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बेग्लै फुटबल क्लब दर्ता गरेको छ ।
त्रिभुवन आर्मी क्लबको नामबाट नेपालको शीर्ष डिभिजनको फुटबल खेलिरहेको आर्मीले राखेपमा बेग्लै फुटबल क्लब दर्ता गरेको हो । विभागीय टिमले राखेपमा ‘त्रिभुवन आर्मी फुटबल क्लब’को रुपमा नयाँ क्लब दर्ता गरेको छ ।
विभागीय टिम आर्मी यसअघि त्रिभुवन आर्मी क्लबको नाममा फुटबलसहित सबै खेलमा सहभागी र प्रतिस्पर्धा गर्दै आएको छ । एएफसीको क्लब लाईसेन्स प्राप्तिका लागि आर्मी बेग्लै फुटबल क्लबको रुपमा दर्ता हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको थियो ।
राखेपमा बेग्लै फुटबल क्लब दर्ता गरेर आर्मी व्यवसायीक फुटबल क्लबको रुपमा अघि बढ्ने संकेत गरेको छ । घरेलु फुटबलमा व्यवसायीक रुपमा अघि बढ्न आर्मीको वर्तमान नेतृत्व सकारात्मक देखिएको छ ।
योसँगै आर्मीले एएफसीको क्लब लाईसेन्सका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेको छ । प्रक्रिया समयमै अघि बढेको खण्डमा आर्मी एएफसीको क्लब लाईसेन्स पाउने नेपालको पहिलो क्लब बन्नेछ । लाईसेन्सले आर्मीलाई एएफसीका प्रतियोगितामा सहभागीता जनाउन अवसर दिनेछ ।
एएफसीले नेपालसहितका राष्ट्रलाई क्लब लाईसेन्सिङ अनिवार्य गरेको छ । लामो समय बितिसक्दा समेत नेपालले घरेलु फुटबलमा क्लब लाईसेन्सिङ प्रणाली लागू गर्न सकेको छैन । एएफसीले क्लब लाईसेन्सिङलाई व्यवसायीक फुटबलको आधार बनाएको छ ।
एएफसीले क्लब लाईसेन्स प्राप्त गर्न बित्तिय, पूर्वाधारसहितका मूख्य ५ मापदण्ड बनाएको छ । लाईसेन्स पाउन क्लबले मूख्य ५ मापदण्डभित्र थप २९ वटा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । तर शीर्ष डिभिजन क्लबकै अभ्यास गर्ने समेत मैदान नभएको नेपालमा क्लब लाईसेन्सिङ लागू गर्न कठिन देखिदै आएको छ । अब भने एएफसीको क्लब लाईसेन्सिङ प्रक्रियामा नेपालको विभागीय टिम आर्मी निकै अघि बढेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ वटा क्लबको क्लब लाईसेन्सिङका लागि एएफसीमा पत्राचार गरेको थियो । तर एएफसीले मापदण्ड नपुगेको भन्दै १३ क्लबलाई लाईसेन्स दिन नसकिने बतायो । सोही अनुसार नेपालका १३ वटा ए डिभिजन क्लब लाईसेन्सका लागि अयोग्य साबित बने । लाईसेन्स स्वीकृत नभएका कारण नेपालका शीर्ष डिभिजनका १३ क्लबले एएफसीका कुनै प्रतियोगिता खेल्न नपाउने लज्जास्पद अवस्था नेपालले भोग्दै आएको छ ।
एएफसीले १३ क्लबको प्रस्ताव अस्विकृत गरे पनि विभागीय टिम आर्मीले लाईसेन्स प्राप्तिका लागि गरेको प्रयासको प्रशंसा गरेको थियो । क्लब लाईसेन्सिङ हेरिरहेका एन्फाका एक कर्मचारीका अनुसार सन् २०२१ का लागि प्रस्ताव गर्दा आर्मीका सबै काजगपत्र पूरा भएको देखिएको थियो ।
एएफसीकै मापदण्ड अनुसार सबै प्रमाणपत्र आर्मीले पूरा गरेको थियो । तर बित्तिय र कानुनी रुपमा एएफसीले प्रश्न उठाएको थियो । ती कर्मचारीले भने, अडिट रिपोर्ट बुझाएपछि बित्तिय मापदण्ड पुगेको देखियो । तर विधान अनुसार बेग्लै फुटबल क्लबको रुपमा दर्ता हुनुपर्ने कानुनी विषयमा एएफसीको मूख्य असहमती जनायो ।
आर्मीको सबै खेललाई समेट्ने विधान रहेको छ । तर एएफसीले फुटबल क्लब हेर्ने बेग्लै विधान हुनुपर्ने सुझाव दिएको थियो । सोही अनुसार आर्मीले फुटबल क्लबको रुपमा राखेपमा टिम दर्ता गरेको छ । एएफसीले क्लब लाईसेन्सिङ लागू गरेपछि विस्तारै विभागीय टिम घरेलु फुटबलबाट हराउने आशंका गरिएको थियो । विभागको नियम अनुसार बेग्लै क्लब दर्ता गरेर एएफसीको मापदण्ड विभागीय टिमले पूरा गर्न नसक्ने धेरैको आशंका थियो ।
त्रिभुवन आर्मी क्लबले युवा परियोजनादेखि एएफसीको सम्पूर्ण मापदण्ड पूरा गर्दै क्लब लाईसेन्सिङका लागि आफू तयार भएको जनाउ दिएको छ । नयाँ क्लब दर्ता भएसंगै चाँडै आर्मी क्लबले एएफसीको क्लब लाईसेन्स प्राप्त गर्ने देखिएको छ ।





























प्रतिक्रिया