सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर हवाइ उडानबारे कुराकानी

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर हवाइ उडानबारे कुराकानी

केन्द्रबिन्दु
15
Shares

नोम पेन्ह । सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् ।

पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख घिमिरेले प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्त्वपूर्ण विषयहरूमा छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए । यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ । नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाइ सम्झौता भएको थियो ।

भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिएका छन् ।

प्रधानमन्त्री मानेटले साना राष्ट्रहरूको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को अन्तर–संसदीय सभा उत्कृष्ट मञ्च भएको बताउँदै आफू समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे । भेटलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरेका छन् । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिकाबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रिय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे छलफल भएको थियो ।

सभामुखले नेपाली शान्ति प्रक्रियाको अद्वितीय सफलताको अनुभव बाँड्दै दुवै देशले साझा हितका क्षेत्रमा थप समझदारी र साझेदारी गर्न सक्ने धारणा राखेका थिए । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग भेट गरेका थिए ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ ओ पूर्ण सत्रमा सम्बोधन गरेका थिए । सभामुख मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

Logo