कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको उत्कृष्ट सुरुवात

कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको उत्कृष्ट सुरुवात

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले उत्कृष्ट सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका आगि ओपनरद्वय आशिफ शेख र अनिल शाहले उत्कृष्ट सुरुवात दिलाएका हुन् । उनीहरुले ६ ओभरको खेल सकिँदा विनाविकेट ५८ रन जोडिसकेका छन् । उनीहरु राष्ट्रिय टोलीका ओपनर जोडी पनि हुन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो । कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे ।

त्यस्तै अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे । भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । यस्तै हङकङका बाबर हायातले १२ रन बनाए ।

बलिङतर्फ जनकपुर वोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले दुई, जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले एक एक विकेट लिए ।

Logo