संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छः सभामुख घिमिरे

संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छः सभामुख घिमिरे

केन्द्रबिन्दु
15
Shares

गण्डकी । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चको आयोजना एवं गण्डकी प्रदेशसभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातवटै प्रदेशका संसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

संसद्को प्रभावकारी भूमिकाले सरकारका गतिविधिलाई प्रभावकारी बनाउने उल्लेख गर्दै उनले दलहरूको महत्त्वपूर्ण भूमिका हुने धारणा राखे ।

परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँंल्याउँदै सभामुख घिमिरेले सङ्घ र प्रदेशबीच राम्रो समन्वय हुनु जरुरी भएको बताए । सङ्घबाट बनेका कानुुनको प्रभावकारी कार्यान्वयन प्रदेशबाट हुन नसकेको जिकिर गर्दै उनले अन्तर व्यवस्थापिका मञ्चका यस किसिमका सम्मेलनले समस्या समाधान गर्न मागदर्शन गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा धेरै राम्रा प्रावधान रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विभिन्न प्रश्न उठ्ने गरेको बताए । कतिपय कानुनको अभावका कारण सङ्घ र प्रदेशबीच खाडल तयार भएको उल्लेख गर्दै उनले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवस्थापिका बलियो भएमा त्यसले सरकारलाई जवाफदेही बनाउने बताए । संविधानअनुसारका कानुन बनाउन नसक्ने र तिनै कानुनको अभावमा काम गर्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको आरोप बेहोर्नुपरेको उनले बताए ।

राजनीतिक अस्थिरताका कारण देशले गति लिन नसकेको अवस्थालाई दृष्टिगत गरी देशका प्रमुख ठूला दुई दल एक ठाउँमा आएका उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले परिवर्तनका उपलब्धिलाई स्थापित गर्नु जरुरी रहेको बताए ।

Logo