आदिवासीले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छः अध्यक्ष शेर्पा

आदिवासीले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छः अध्यक्ष शेर्पा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा विशेष जोड दिनुपर्ने बताएका छन् ।

नेपाल मगर संघले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे संक्रान्तिका अवसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले त्यस्तो बताएका हुन् ।

पछिल्लो समय आदिवासी जनजातिको मातृभाषा लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष शेर्पाले भने, ‘हाम्रो मूल कुरा भनेकै मातृभाषा हो । मातृभाषा रह्यो भने हामी रहन्छौँ । मातृभाषा नै रहेन भने हामी कसरी रहन्छौँ ? आज यहाँ कार्यक्रम सञ्चालकले मातृभाषामा कार्यक्रम सञ्चालन गरेको भए कति उत्प्रेरणा मिल्थ्यो । त्यसैले हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ । हाम्रो मुटु भनेकै मातृभाषा हो ।’

संस्कार, संस्कृति, वेशभूषा सँगै मातृभाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक रहेको अध्यक्ष शेर्पाको भनाइ थियो । नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भए पनि त्यसको प्रतिफल भने अन्य समुदायले उपभोग गर्दै आएको बताए ।

अनेक बहानामा उल्टै आदिवासी जनजातिका प्राकृतिक अधिकारहरू खोस्ने कार्य भइरहेको भन्दै उनले यसमा सचेत हुन आवश्यक रहेको बताए । ‘आदिवासी जनजाति समुदाय प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्छ । प्राकृतिक स्रोतसाधनविना आदिवासी जनजातिको जीविकोपार्जन समेत हुँदैन’, अध्यक्ष शेर्पाले भने, ‘तर अहिले विभिन्न बहानामा अधिकार खोस्ने प्रयत्न भइरहेको छ । यसमा हामी समयमै सचेत हुन आवश्यक छ ।’

पछिल्लो समय संविधान संशोधनको चर्चा भइरहेको भन्दै उनले संविधान संशोधन गर्दा आदिवासी जनजातिले पाएको अधिकार पनि खोस्ने षड्यन्त्र हुनसक्ने बताए । संविधान संशोधन हुँदा प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि पहलकदमी हुनुपर्ने उनको भनाइ थियो ।

Logo