विराटनगर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
उद्योग सङ्गठन मोरङद्वारा आयोजित ‘विराट एक्स्पो-२०२५’ को आज उद्घाटन गर्दै उहाँले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न गम्भीर रहेको उल्लेख गरेका हुन् ।
मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा सरकार गठन भएको र यो सरकार सबै समस्या समाधान गर्न तीव्र गतिमा काम गरिरहेको उनको भनाइ थियो ।
उपप्रधान पौडेलले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रमा सुधार देखिएको समेत उल्लेख गरे । हाल बैंकमा तरलता पर्याप्त रहेको र ब्याजदर पनि एकल अङ्कमा आएको उल्लेख गर्दै यसबाट उद्योगीहरुले लाभ लिइरहेको बताए ।
“मुलुकमा राजनीतिक स्थायित्व हुँदा अर्थतन्त्रमा देखिएका समस्यमा समाधानमा सहज हुन्छ”, उनले भने, “अहिलेको सरकारका लागि सहज अवस्था छैन, नागरिकका निराशालाई आशामा बदल्ने गरी सरकारले द्रुत गतिमा काम गरिरहेको छ ।”
उनले ‘निराशा चिर्ने र आशा सञ्चार गर्ने’ दायित्व सरकारकै भएकाले अध्यादेशमार्फत विभिन्न कानुन संशोधनपछि निजी क्षेत्रपनि उत्साहित भएको बताए । त्यस अवसरमा उनले सरकार प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि काम गरिरहेको समेत जानकारी दिए ।
“विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, औद्योगिक ग्राम तथा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने र किमाथाङ्का बाटोको विषयमा सरकारले आवश्यक सहयोग गर्नेछ”, उनले भने ।





























प्रतिक्रिया