एजेन्सी । बाबा रामदेवको कम्पनी पतञ्जली दिव्य फार्मेसीले कमाएको मुनाफाको केही हिस्सा स्थानीय किसान र अन्य समुदायलाई बाँड्नुपर्ने भएको छ ।
उत्तराखण्ड उच्च अदालतले मुनाफाको केही हिस्सा स्थानीय किसान र अन्य समुदायलाई वितरण गर्न आदेश दिएको छ । पतञ्जली दिव्य फार्मेसीले त्यहाँका स्थानीय किसान र अन्य समुदायलाई २.०४ करोड भारु बाँड्नुपर्नेछ ।
उच्च अदालतले दिव्य फार्मेसीद्वारा उत्तराखण्ड जैव विविधता बोर्डविरुद्ध दायर मुद्धालाई खारेज गर्दै कम्पनीलाई हुने लाभको केही अंश बाँड्नको लागि बोर्डको आदेश कायम राखेको छ । यो फैसला भारतको ‘जैविक विविधता अधिनियम २००२’ को प्रावधानहरुमा टेकेर गरिएको हो ।
योभन्दा पहिले उत्तराखण्डको जैविक विविधता बोर्ड (यूबीबी) ले दिव्य फार्मेसीलाई जैविक विविधता कानूनको प्रावधान अन्तर्गत कम्पनीले आर्जन गरिरहेको ४२१ करोड भारु लाभबाट २.०४ करोड भारु किसान र स्थानीय समुदायहरुलाई बाँड्न निर्देशन दिएको थियो ।
अर्कोतर्फ पतञ्जली दिव्य फार्मेसीले यो बोर्डको अधिकार क्षेत्रमा नपर्ने भएकाले उसलाई यस्तो निर्देशन दिने कुनै अधिकार नभएको भनेर बोर्डको निर्देशनलाई अदालतमा चुनौती दिएको थियो ।
कम्पनीले आफूले किसान र स्थानीय समुदायलाई कुनै पनि हिस्सा दिन बाध्य नरहेको बताएको थियो । तर न्यायाधीश सुधांशु धूलियाको एकल वहसमा अदालतले बोर्डको पक्षमा फैसला गरेको हो ।





























प्रतिक्रिया