काठमाडौं । नेकपा एमालेका सचिव एवं ताप्लेजुङका सांसद योगेश भट्टराईले पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणमा स्थानीयवासीको पूर्ण साथ रहेको बताएका छन् ।
प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्न बनाउन लागिएको केवलकारमा विवाद चर्किरहँदा यसको पक्षमा खुलेका सांसद भट्टराई भन्छन्, ‘पाथीभरामा केवलकार बन्छ । केवलकार निर्माणमा स्थानीयकाे साथ छ, त्यसमा कसैले पनि विरोध गर्न आवश्यक छैन ।’
केवलकारले मात्रै ताप्लेजुङको स्वरुप फेरिन्छ भन्ने पनि छैन । तर ताप्लेजुङको विकासका लागि केवलकारले केही टेवा पक्कै पुर्याउँछ ।
केन्द्रबिन्दु टिभीसँगको संवाद क्रममा उनले थपे, ‘पाथीभरा केवलकार निर्माण विवाद केही मानिसहरुको व्यक्तिगत स्वार्थ र कुण्ठाले भएको हो । त्यसलाई जातीयकरण, धार्मिक-सांस्कृतिकरण गर्न खोजियो । केही व्यक्तिको निजी स्वार्थ पूरा गर्न समाजलाई गलत सूचना दिइ भड्काउने काम भएको छ, जुन विल्कुलै निन्दनीय छ ।’
पाथीभरा केवलकार निर्माणको विरोध गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत पहिचानवादी समूहले बलेको भुङ्रोमा रोटी सेकिरहेको पनि सांसद भट्टराईले टिप्पणी गरेका छन् ।

उनले भने, ‘केन्द्रमा विरोध गर्ने पार्टीका ताप्लेजुङ जिल्ला कमिटीले पाथीभरा केवलकार निर्माण हुनुपर्छ भन्दै वक्तव्यबाजी गरिरहेका छन् । जिल्ला बनाउनुपर्छ भन्दा केन्द्रले के भन्छ त्यसले कुनै मान्यता राख्दैन ।’
सांसद भट्टराईले भने, ‘पाथीभरा केवलकार निर्माणमा केही व्यक्तिको स्वार्थ बाँझियो र केवलकार निर्माणको विरोध गर्न सुरु गरे । यो विषय अहिले आएको होइन, दशकौँ पुरानो हो । ०७९ को चुनावमा भोट माग्न जाँदा केवलकार बनाउनुपर्छ, केवलकार बनाउन कोसिस गर्छाैं, लगानी खोज्छौँ भन्दाखेरी ताली बजाएका छन् जनताले । म पनि उनीहरुकै भोट पाएर आएको जनप्रतिनिधि होनी । अनि को हो स्थानीय ? स्थानीयको नाममा केही जमातले केवलकार निर्माणको विरोध गरिरहेका छन् ।’
‘पाथीभरा केवलकार निर्माण विवाद केही मानिसहरुको व्यक्तिगत स्वार्थ र कुण्ठाले भएको हो । केही समूहले बलेको भुङ्रोमा रोटी सेकिरहेका छन् ।’
सांसद भट्टराई पाथीभरामा केवलकार निर्माणमा विरोध भन्दा पनि सरोकारवालासँग वार्ता गरेर कसरी हुन्छ विवाद सुल्झाउन आवश्यक रहेको औंल्याउँछन् । उनी भन्छन्, ‘केवलकारले मात्रै ताप्लेजुङको स्वरुप फेरिन्छ भन्ने पनि छैन । तर ताप्लेजुङको विकासका लागि केवलकारले केही टेवा पक्कै पुर्याउँछ । त्यसैले केवलकार निर्माणको विरोध भन्दा पनि सरोकारवालासँग वार्ता गरेर कसरी हुन्छ विवाद सुल्झाउन आवश्यक छ ।’
यसअघि सांसद भट्टराईले पाथीभरा केवलकार निर्माणका सवालमा भइरहेको विवादबारे १९ बुँदे धारणा पनि सार्वजनिक गरिसकेका छन् ।





























प्रतिक्रिया