काठमाडौँ
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास दाताले नभई जनताले गर्नु पर्ने बताएका छन् । जिल्ला समन्वय समिति कालिकोटद्वारा आयोजित दोश्रो जिल्ला सभाको उद्घाटन गर्दै उनले विकास र सम्वृद्धि जनताले गर्ने बताएका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले जनताले सरकारमा पठाएकाले जनतातिर फर्कनु पर्ने बताए । ‘विकास अभियानमा दातृ निकायको सहयोगी भूमिका मात्र हुन्छ,’ उनले भने, ‘जनतालाई नलिई विकास र सम्वृद्धिको अभियान पूरा हुँदैन ।’
मुख्यमन्त्री शाहीले नकारात्मक सोच र राजारजौटाको शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने बताउँदै जनताको सेवक हुन पर्ने बताए । ‘सिंगो कर्णालीको विकासमा आफूले आर्थिक श्रोतको अभाव हुन नदिने मेरो विचार छ ।’ उनले भने, ‘श्रोतको सदुपयोग र दिगो विकासमा ध्यान दिन आग्रह गर्दछु ।’
मुख्यमन्त्री शाहीले जनतालाई उत्पादनका काममा जोडेर विकास गर्न जनप्रतिनीधिलाई आग्रह गरे । ‘जनतालाई उत्पादनसँग नजोडे समृद्धि प्राप्त हुँदैन ।’ उनले भने, ‘कृषि, उद्योग, पर्यटन जस्ता क्षेत्रको विकासमा लाग्नुस ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया