काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादमाथि सहज जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा मुम्बईले हैदरावादमाथि ४ विकेटको जित निकालेको हो ।
वाङ्खडे क्रिकेट रंगशालामा हैदरावादले दिएको १६३ रनको लक्ष्य मुम्बईले ४ विकेटको क्षतिमा ११ बल बाँकी रहँदै पूरा गर्यो । मुम्बईका लागि वील ज्याक्सले २६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन जोडे । साथै ओपनर रेन रिकेल्टनले ३१ रन, अर्का ओपनर रोहित शर्माले १६ बलमा ३ छक्कासहित २६ रन तथा सूर्यकुमार यादवले १५ बलमा समान २ चौका र छक्कासहित २६ रन बनाएर आउट भए ।
बलिङतर्फ हैदरावादका कप्तान प्याट कमिन्सले ३ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको हैदरावादले २० ओभरमा ५ विकेट गुमाई १ सय ६२ रन जोडेको थियो । हैदरावादका लागि ओपनर अभिषेक शर्माले २८ बलमा ७ चौका प्रहार गर्दै ४० रन तथा अर्का ओपनर ट्राभिस हेडले २९ बलमा ३ चौका प्रहार गर्दै २८ रन बनाए ।
साथै हेनरिक क्लासेन २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रनमा आउट भए ।
बलिङतर्फ मुम्बईबाट विल ज्याक्सले २ विकेट लिँदा जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्येको नाममा पनि १–१ विकेट रह्यो ।
सातौं खेलमा मुम्बईको यो तेस्रो जित हो । मुम्बई ६ अङ्कसहित अंक तालिकाको सातौँ स्थानमा यथावत् छ । यता ७ खेलमा पाँचौं हार भोगेको हैदराबाद नवौं स्थानमा छ ।





























प्रतिक्रिया