काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा शिक्षकसँग भएका सम्झौता कार्यान्वयनका निम्ति सक्दो प्रयास गरेको उल्लेख गरेका हुन् ।
उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गर्न आवश्यक भएको बताए । “हामी शान्ति प्रक्रियामा आएपछि पार्टीले विभिन्न गुट–उपगुट र फुट बेहोर्नुपर्यो, अहिले फेरि एकताको प्रक्रिया अघि बढेको छ, मलाई विश्वास छ, अब छिट्टै माओवादी धाराहरु मूलभूत रुपमा एकता भइसकेका हुनेछन्” उनले भने ।
उनले पछिल्लो पटक आफू प्रधामन्त्री हुँदा गर्न सुशासन, सामाजिक न्याय, अन्तरराष्ट्रिय सम्बन्ध सुदृढीकरण र छिमेकीसँग नेपालको हित अनुकुल सहमति र सम्झौता गर्न लिइएका पहलको परिणामस्वरुप जनतामा माओवादीप्रतिको आशा र भरोसा जागेको दाबी गरे ।
आफ्नो पार्टीले सुरु गरेको हुलाकीमार्ग केन्द्रित अभियानले पनि माओवादी पार्टीप्रतिको आकर्षण बढ्दै गएको अध्यक्ष दाहालको भनाइ छ ।





























प्रतिक्रिया