काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली भ्रमणमा राजनीतिक भेटघाट कार्यक्रमलाई निकै सक्रिय बनाए । नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन उद्देश्यले नेपाल भ्रमणमा आएका चौथाईवाले बुधबार बिहान नेपाल अवतरण गरेदेखि राजनीतिक भेटघाटका लागि तीव्ररुप दिएका छन्, जुन आज पनि जारी रह्याे ।
तीन दिनको भ्रमणमा आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मका दर्जन बढी नेताहरुसँग छुट्टाछुट्टै भेटघाट गरे ।
नेपाल आइपुगेकै दिन देउवादेखि आरजुसँग भेट
नेपाल आइपुगे लगत्तै बुधबार नै उनले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणासँग उनकै निवास बुढानीलकण्ठ पुगेर भेटघाट गरे । चौथाईवालेसँगको भेटवार्ता फलदायी भएको परराष्ट्रमन्त्री राणाले बताएकी छन् । उनले दुई देशको सम्बन्ध विस्तारका विषयमा कुरा भएको बताइन्।
यस्तै, सोही दिन नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरे । गृह मन्त्रालयमै पुगेर बुधबार दिउँसो चौथाइवालेले लेखकसँग भेटवार्ता गरेका हुन् ।
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरे । मन्त्री लेखकले उक्त घटना दुखद् भएको भन्दै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकी मित्र भारतसँगै रहेको बताए ।
सत्तारुढ दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने क्रममै उनले कांग्रेस नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाश शरण महत र केन्द्रीय सदस्य उदय शमशेर राणा र नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । यस्तै, माओवादी नेता जनार्दन शर्मासँग पनि उनले भेटघाट गरेका छन् ।
राजनीतिक दलसँग सम्बन्ध नवीकरण र थप सौहार्द बनाउने उद्देश्यले उनी नेपाल आइपुगेको जनाइएको छ ।
नेपाली राजनीतिमा आएको अस्थिरताकाे संकेत पैदा भइरहेकाे चर्चाकाबीच राजनीतिक भेटघाटमा सक्रिय भएका चौथाईवालेसँग सामान्य रुपमा भेटघाट भएको कांग्रेसका प्रवक्ता महतले बताए । उनले भने, ‘पार्टीको सम्बन्ध र जानकारी के छ ? कस्तो छ ?, पछिल्लो समय भारतको पहगाममा भएको घटनाको विषय र दुइ देशबीचको सम्बन्धको विषयमा सामान्य कुराकानी भयो ।’
प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केहि कुराकानी भयो भन्ने प्रश्नमा प्रवक्ता महतले चौथाईवाले सरकारको प्रतिनिधि नभएकाले कुरा नभएको बताए । तर, चौथाईवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र भनेर चिनिन्छन् ।
प्रचण्डलाई भने- ‘वर्तमान प्रधानमन्त्री’
नेपाल प्रस्थान भएकै दिनदेखि राजनीतिक भेटघाटमा व्यस्त रहेका चौथाईवालेले दोस्रो दिन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरे । सोही दिन वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग पनि राजनीतिक समसाहिक राजनीतिक विषयमा भेटवार्ता गरे ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
तर रोचक कुरा चाँहि के देखियो भने एकैदिन वर्तमान प्रधानमन्त्री ओली लगायत तीन जना शीर्ष नेतासँग भेटघाट गरेका चौथाइवालेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ लाई वर्तमान प्रधानमन्त्री भनेर सम्बोधन गरे । स्टाटसमा उनले लेखेका थिए, ‘काठमाडौंमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा जी, वर्तमान प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड जी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जीसँग भेटघाट’
उनले लेखेको पहिलो स्टाटसमा वर्तमान प्रधानमन्त्री ओली अटाउन सकेनन् । यद्यपी, उनले पछि स्टाटस सच्याउँदै वर्तमान प्रधानमन्त्री ओलीलाई समावेश गरेर स्टाटस लेखे । सच्याएकाे स्टाटसमा भनिएकाे थियाे, ‘पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा, श्री माधव नेपाल, श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्तमान प्रधानमन्त्री श्री केपी शर्मा ओलीसँग ।’
नेपालमा नयाँ सरकार बनेलगत्तै प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा भारत भ्रमणमा जाने प्रचलन छ तर संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको शक्तिशाली सरकार बनेको १० महिना हुँदासमेत प्रधानमन्त्री ओली भारत भ्रमणमा गएका छैनन् ।
प्रधानमन्त्री ओलीले अनेक प्रयास गर्दा पनि भारत भ्रमणको निम्ता पाउन नसकिरहेका बेला मोदीका विश्वासपात्र चौथाईवालेले नेपाल आएर राजनीतिक भेटघाट गर्नुलाई सत्तारुढ दलका नेताहरुले अर्थपूर्णरुपमा लिइएको बताएका छन् । बुधवार बिहान काठमाडौं आइपुगेका उनी आजै स्वदेश फर्किँदै छन् ।





























प्रतिक्रिया