काठमाडौं । आज एकैदिन सत्तारुढ दल नेकपा एमाले र राजावादी समूहले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न अनुरोध गरेको छ । त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको बताइएको छ ।
एमालेले बिहीबार गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । एमालेले गणतन्त्र दिवसका अवसरमा आयोजना गर्ने उत्सवलाई सफल पार्न पार्टीका शीर्षनेताहरुको जिम्मेवारी बाँडफाँड गरिसकेको छ । उपत्यकाका जनप्रदर्शनमा ठूलो सङ्ख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरु क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ भने उपत्यका विशेषको संयोजनको जिम्मेवारी सचिव योगेश भट्टराईले पाएका छन् ।
काठमाडौंको १० वटा निर्वाचन क्षेत्रबाट प्रदर्शनमा सहभागी हुने नेता–कार्यकर्तालाई भृकुटीमण्डप जान भनिएको छ। निर्वाचन क्षेत्र ८, ९, १० का लागि सहिदगेट तोकिएको छ। यी निर्वाचन क्षेत्रबाट सहभागी हुने सहिलगेटबाट रत्नपार्क नघुमी सिधै भृकुटीमण्डप जानेछन्। त्यस्तै निर्वाचन क्षेत्र ५, ६, ७ का लागि कमलादी तोकिएको छ। त्यहाँबाट पुतलीसडक हुँदै जुलुस भृकुटीमण्डप जानेछ। निर्वाचन क्षेत्र १, २, ३, ४ का लाडि डिल्लीबजार तोएिको र त्यहाँबाट जुलुस सिधै पुतलीसडक हुँदै भृकुटीमण्डप जाने गरी तय गरिएको छ ।
यता राजावादीहरूले पनि काठमाडौं केन्द्रित गरेर आजबाट नै व्यवस्था उल्टाउने जनविद्रोह गर्ने घोषणा गरिसकेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले रत्नपार्कमा आन्दोलन गर्ने बताएको छ । राजसंस्था पुनस्र्थापना, हिन्दु राज्य पुनस्र्थापना र संघीयता खारेजीलगायत माग राखेर तय भएको यो आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत विभिन्न पार्टी र समूहहरूको समर्थन छ। गत शनिवार आयोजित जागरण सभामा १५ गते दिउसो १२ बजे रत्नपार्कमा भेला हुन आह्वान गरिएको थियो । तर उनीहरूले प्रदर्शनका लागि स्थानको अनुमति भने लिएका छैनन्।
केही दिनअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंलाई नियन्त्रणमा राख्न पार्टीका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । सोही कारण यस पटक सुरक्षा व्यवस्थामाथि चासो बढेको छ ।
राष्ट्रिय युवासंघको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ ।’ उनको यो अभिव्यक्ति निकै विवादित बनेको थियो । यसरी एकै स्थानमा प्रदर्शन गर्दा एमाले र राजावादीबीच मुठभेडको सम्भावना बढेपछि प्रशासनले छुट्टाछुट्टै समय उपलब्ध गराएको हो ।































प्रतिक्रिया