एजेन्सी । ह्यास ट्याग ‘मी टू’ अभियानमा धेरै सेलिब्रेटी फसेपछि न्युजिल्यान्डको क्रिकेट खेलाडी संघ (एनजेडसीपीए) ले आफ्ना खेलाडीलाई शारीरिक सम्पर्क राख्नुअघि सम्बन्धित महिलाको मञ्जुरी लिन सुझाव दिएको छ। एनजेडसीपीएले आफ्ना सदस्यहरू भविष्यमा कुनै पनि समस्यामा नपरून् भन्ने उद्देश्यले यसअघिदेखि नै प्रकाशन हुँदै आएको हाते पुस्तक (ह्यान्ड बुक) समेत परिमार्जन गरिएको जनाएको छ।
एनजेडसीपीएले हाते पुस्तकमा ‘गुड डिसिजन मेकिङ’ शीर्षक थपी त्यसमा आफूले हरेक समय सही निर्णय कसरी लिने भन्ने प्रसंगसहित शारीरिक सम्पर्क गर्नुअघि महिला साथीसँग मञ्जुरी लिन सुझाव दिएको हो । ह्यास ट्याग ‘मी टू’ अभियान सुरु भएपछि विभिन्न समयमा शारीरिक शोषण वा दुव्र्यवहारमा परेका महिलाले त्यस्ता घटना सार्वजनिक गर्न थालेपछि त्यसमा संलग्न पुरुषहरू समस्यामा पर्दै आएका छन्।
ह्यास ट्याग ‘मी टू’ मार्फत धेरै वर्षअघिका घटनासमेत सार्वजनिक हुँदै आएको छ। सोही घटनाको बढ्दो क्रमसँगै एनजेडसीपीएले आफ्ना खेलाडीहरू भविष्यमा यस्ता समस्यामा नपरून् भन्ने उद्देश्यले हाते पुस्तक नै परिमार्जन गरिएको जनाएको छ।
‘आफ्नो जीवनको हरेक विषयमा सही निर्णय लिनु महत्वपूर्ण हुन्छ। अझ शारीरिक सम्पर्कको सम्बन्धमा त सही निर्णय लिनु अति नै आवश्यक छ। खासगरी महिला साथीसँग मञ्जुरी लिनु जरुरी छ’, हाते पुस्तकमा थपिएको बुँदामा भनिएको छ, ‘अवस्था जस्तोसुकै होस्, शारीरिक सम्बन्ध राख्नुअघि स्वीकृति लिनै पर्छ।’
यदि महिला सहकर्मीले प्रस्ताव अस्वीकार गरे उनीहरूको निर्णयलाई सम्मान गर्न पनि एनजेडसीपीएले आफ्ना खेलाडीलाई सुझाव दिएको छ।





























प्रतिक्रिया