नेपाल-बंगलादेश विद्युत व्यापारः गत वर्षकै भुक्तानी हुन बाँकी, खुलाएन एलसी

नेपाल-बंगलादेश विद्युत व्यापारः गत वर्षकै भुक्तानी हुन बाँकी, खुलाएन एलसी

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । बंगलादेशले प्रतीतपत्र (एलसी) नखोल्दा विद्युत् नेपाल–बंगलादेश विद्युत व्यापार अन्योलमा परेको छ ।

विद्युत् व्यापार सम्झौताअनुसार नेपालले आगामी १५ जुन अर्थात् असार १ गतेदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्नुपर्ने छ। तर असार लाग्ने लाग्दा पनि बंगलादेशले एलसी नखुलाएपछि बंगलादेशसँगको विद्युत् व्यापारमा अन्योलता बढेको छ ।

बंगलादेशको आधिकारिक निकाय बंगलादेश पावर डेभलपमेन्ट बोर्डले यो वर्षको वर्षायाममा नेपालबाट विद्युत् आयातका लागि हालसम्म पनि एलसी नखुलाएको हो। यता गत वर्षको नोभेम्बर १५ मा नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशले अहिलेसम्म तिरेको छैन। अघिल्लो वर्षकै विद्युत्को भुक्तानी नदिनु, यस वर्ष विद्युत् आयातका लागि एलसी नखोलिनु र हालसम्म कुनै औपचारिक सम्पर्क नहुनुले बंगलादेशसँगको विद्युत् व्यापारमा थप अन्योलता बढाएको छ ।

सन् २०२४ नोभेम्बर १५ (३० कात्तिक) मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानले भर्चुअल विधिमार्फत संयुक्त विद्युत् निर्यातको उद्घाटन गरेका थिए। प्राधिकरण स्रोतका अनुसार उक्त दिन ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो। यसबाट ३० हजार ८० डलर भएको प्राधिकरण स्रोतले बताएको छ।

तर हालसम्म बीपीडीबीले उक्त रकम भुक्तान गरेको छैन। सम्झौताअनुसार हरेक वर्षायामको ५ महिना अर्थात् १५ जुनदेखि १५ नोभेम्बरसम्म मात्रै विद्युत् निर्यात गर्न पाइन्छ । त्यसैले बंगलादेशमा त्यसपश्चात विद्युत निर्यात हुन सकेन ।

यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएकामा सन् २०२४ देखि नेपालको बिजुली तेस्रो देशमा समेत विस्तार भएको हो। नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशसम्म पुगेको छ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुगेको हो। त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्छ।

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा ४० मेगावाट विद्युत् पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्ने जनाएको छ। प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी सम्झौता भएको थियो ।

नेपालले सन् ०३५ सम्म बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् बिक्री गर्ने लक्ष्य लिएको छ। तर, अहिले ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता कार्यान्वयनमै चुनौती देखिएको छ।

प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो। प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृति भएपछि त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो।

Logo