साहित्यकार गोविन्द गिरी प्रेरणा साहित्यका हरेकजसो विषयहरुलाई अलि फरक तरिकाले प्रस्तुत गर्ने लेखनशैली भएका व्यक्तित्व हुन् । उनका रचनाहरु पढ्दा जे देखिन्छ त्यहि, जस्तो छ त्यस्तै पारामा प्रस्तुत गरिएको पाइन्छ । अर्को शब्दमा भन्नु पर्दा खरो स्वभावका स्पष्ट वक्ता हुन् उनी ।
साहित्यका माध्यमबाट समाजमा घटेका, घट्ने गरेका र घट्ने सम्भावना भएका जो जति विषय छन्, ती सबैलाई जस्ताको त्यस्तै उर्तान खप्पिस उनले हालै मात्र यथार्थपरक उपन्यास पाठक सामु जिम्मा लिएर प्रवास तिर हानिएका छन् । उपन्यासको नाम छ लिभिङ टुगेदर । जसको नामै काफी छ, के होला विषयवस्तु त्यो पनि अनुमान लगाउन पाठकहरुलाई समस्या नै नपर्ला शायद ।
साँच्चै यसमा हिजोआज फेसन र सामान्य जस्तै भएको लिभिङ टुगेदर के हो, किन मानिसहरु यसलाई अंगालिरहेका छन् ? यसका राम्रा पक्ष के छन् वा नराम्रा पक्ष कस्ता छन् ? वा विकृति पो फैलिएको छ कि जस्ता अनेकन विषयलाई खोतलेर युवायुवतीबीच कायम लिभिङ टुगेदरको चिरफार गरेका छन् ।
गाउँमा काम खासै नभएपछि वा पढ्ने वातावरण नभएपछि कोहि काम गर्ने वाहनामा त कोहि पढ्ने वाहनामा शहर पस्छन् । ठूलो अभिलाषा र सपना बोकेर आएका युवायुवतीहरु त्यतिबेला झसंङ्ग हुन्छन् जतिबेला शहरमा आएपछि उनीहरुले देखेका सपनाहरु चकनाचुर हुन्छन् । अनि दैनिक आवश्यकता टार्नकै लागि विकल्पको खोजी हुन थाल्छ ।
विकल्पकै एउटा माध्यमको रुपमा हुन्छ लिभिङ टुगेदर । सामान्य अर्थमा भन्नु पर्दा बिहेवारी नभई एउटा युवा र अर्की युवती सँगै एउटै कोठामा बसोबास गर्छन् । आउजाउ गर्छन्, सँगै बसेपछि नगरौं भने पनि उनीहरुबीच हरेक काम हुन्छ जो श्रीमान श्रीमतीकाबीचमा हुने गर्छ ।
क्षणिक रुपमा रमाइलो गर्छन्, ती युवायुवतीहरु । तर हिमचिम र अन्य व्यवहारले आफूहरु विकृतिको दलदलमा फसेको पत्तै पाउँदैनन् । कोठामा लुकेर गरेको रोमान्सलेपछि समाजमा ठूलो समस्या निम्त्याउँछ भनेर उनीहरुले सोचेकै हुँदैनन् । यसले कालान्तरमा फाटो मात्रै ल्याउँदैन्, मुद्दा लिएर अदालत सम्मै धाउन बाध्य बनाउँछ ।
हो हिजोआज यस्तै हुने गरेको छ । लिभिङ टुगेदर यस्तै यथार्थ सामाजिक पात्रहरुको कथा हो । प्रतिनिधी हो । जसमा उल्लेखित विषयहरुको रोचक प्रस्तुती पाइन्छ । यसमा समाजमा हुने धेरै पात्रहरुको उपस्थिति छ । कुमार र कृष्णा पनि यसका उदाहरणिय पात्रहरु हुन् । सामान्य चिनजानकै भरमा सँगै बसेर समस्यामा परेकाहरुको प्रतिनिधी बनेका उनीहरु । यो अहिलेको समाजको चित्र हो ।
उपन्यासको पेरिफेरि लामो होला, आकार ठूलो पनि होला, जसमा लेखकको लेखनशैलि र प्रस्तुतीले लामो बनाउन बाध्य पनि बनाएको होला । यसलाई अन्यथा नलिई भन्ने हो भने लिभिङ टुगेदर गर्ने र समस्या निम्त्याउने गर्नु राम्रो होइन भन्ने मुख्य उद्देश्य उपन्यासकारको रहेको पाइन्छ । जीवन लामो छ र यसलाई सामान्य मात्र सोच्ने हो भने त जे गरे पनि हुन्छ । तर जीवनलाई सार्थक बनाउने हो भने समाजका नियम र परिधिको दायरामा बस्नुपर्छ ।
उदाहरणिय बन्नुपर्छ भन्नु उपन्यास र उपन्यासकारको प्रयास हो । तर पढ्दै जाँदा कतै कतै केहि अस्लिलता पनि भेट्न सकिन्छ, जो त्यति सहज नलाग्न पनि सक्छ । यसमा लेखकले अलि ध्यान पुर्याउन नसकेको हो कि जस्तो नलाग्ने हो भने उपन्यास साँच्चै उत्कृष्ट बन्नेमा शंका छैन । बिएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको लिभिङ टुगेदरको मुल्य ३२५ राखिएको छ ।































प्रतिक्रिया