रुकुम
रुकुम पुर्वको पुथा उत्तरगंगा गाँउपालिकामा खाद्य संकट देखिएको छ । चार्डपर्व नजिकिँदै गर्दा जिल्लाको सो गाँउपालिकामा खाद्य संकट देखिएको हो । गत भदौ महिनामा चलेको अत्यधिक हावा हुरीका कारण मकै बाली नष्ट भएको र पहिरोका कारण गाडी संचालन नभएपछि खाद्य संकट देखिएको हो ।
रुकुम पुर्वका जिल्ला समन्वय समितीका प्रमुख गजेन्द्रबहादुर ओली कैलाशका अनुसार पुथाउत्तरगंगा गाँउपालिकाको मैकोट, हुकाम लगायतका गाँउमा सबै भन्दा बढी खाद्य अभाव रहेको छ । ति गाँउमा हावाहुरीले पुरै मकै नष्ट गरेको छ । हिमाली क्षेत्र भएकोले सो ठाँउमा धान उत्पादन नहुने र मकैबाली मुख्य बाली भएकोले त्यही पनि हावाहुरीले नष्ट भएपछि खाद्य अभाव भएको प्रमुख ओलीले बताउनुभयो ।
यस्तै बर्षातका कारण पहिरोले सडक अवरुद्ध भएपछि बाहिरबाट खाद्य सामाग्री भित्र्याउन नसक्दा संकट देखिएको छ । अझै पनि खाद्य भित्र्याउन ढिला हुने हो भने चरम संकट हुने उहाँले बताउनुभयो । यसै गरी भुमे गाँउपालिकाको धर्मशाला, गुनाम, कुचीबाङ, कोर्जा लगायतका गाँउमा पनि खाद्य अभाव देखिएको छ ।
यता रुकुम पश्चिमको सदरमुकाममा रहेको रुकुम पश्चिम र रुकुम पुर्वको काम सम्हालेको खाद्य संस्थान रुकुम शाखामा चामल थन्कीएको छ । अझै पनि ३९३ क्वीन्टल चामल मौजात रहेको खाद्य संस्थान रुकुमका निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो । खड्काले भन्नुभयो “रुकुम पुर्वको बिशेष गरी पुथाउत्तरगंगा गाँउपालिकामा खाद्य संकट देखिएको छ । त्यहाँ पठाउनका लागी ढुवानीको व्यवस्था नहुँदा खाद्य यतै थन्कीएको हो ।”
गाँउपालिकाले ढुवानीको व्यवस्था गरी पश्चिमको गोदामबाट चामल लिन सक्ने संभावना हुँदा हुँदै पनि पहल नभएको स्थानीयको दुखेसो छ । यता रुकुम पश्चिममा भने खाद्य अभावको समस्या नआउने निमित्त कार्यालय प्रमुख खड्काको भनाई छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया