काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीति पुनः सक्रिय भएपछि एमाले मात्र नभएर समग्र नेपाली राजनीति तरङ्गित भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेको पार्टी राजनीतिमा सक्रिय हुने केही समय अगाडि चाहना व्यक्त गरेकी थिइन् । एमालेमा आफ्नो पसिना बगेको र लामो समय योगदान रहेको बताउँदै पार्टी राजनीतिमा सक्रिय हुने उनकाे भनाइ थियाे ।
भण्डारी राष्ट्रपति हुनुअघि एमाले उपाध्यक्ष थिइन् । १२ कात्तिक २०७२ मा राष्ट्रपति भएकी उनी अर्को कार्यकालसमेत पूरा गरेर २९ फागुन २०७९ मा शीतल निवासबाट बाहिरिएकी थिइन् ।
उनले एमालेको नेताकै रूपमा प्रस्तुत हुन थालेपछि केही दिनअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालासँग भेट गरिन् । साथै आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग च्यासलस्थित पार्टी कार्यालयमा करिब २ घण्टा एक्लाएक्लै भेटवार्ता गरेकी छन् ।
सक्रिय राजनीतिमा फर्कने घोषणापछि ओलीसँग भण्डारीको यो पहिलो भेटवार्ता हो । एमालेमा पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिको घोषणा गरेको विषयले नयाँ बहस निम्त्याएको छ ।
साउन २९ गते एमालेको सचिवालय बैठक करिब ८ घण्टा चल्यो । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी सम्बन्धमा बसेको बैठकमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन्। राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत भए पनि बैठक मूल छलफल भण्डारीको सक्रिय राजनीतिमा आउने विषय र पार्टी सदस्यता नवीकरण र पार्टी नेतृत्वको उमेर हद र कार्यकालको विषयमा केन्द्रित भएको थियो ।
विधानमा दुई कार्यकाल भन्दा बढी नेतृत्वको एकैपदमा रहन नपाउने र ७० वर्ष उमेर हद दुवै ओलीका लागि गलाको पासो बनेको र अब निकट आउन लागेको विधान महाधिवेशनमा ती व्यवस्था हटाउन अहिलेदेखि सचिवालय, स्थायी कमिटी पोलिटब्युरो र केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुपर्ने प्रावधानलाई एमालेले अगाडि बढाएको हो ।
विधानमा दुई कार्यकाल र ७० वर्ष उमेर हद कायम गर्न सके ओली नेतृत्वबाट स्वतः बाहिरिने छन् भने भण्डारी नेतृत्वमा आउन सहज हुनेछ । तर पार्टी कमिटीमा ओलीको पकड कायम रहेसँगै अब एमालेको विधानबाट दुई कार्यकाल र ७० वर्ष उमेर हद हट्ने छ र ओलीको लागी पार्टी विधान बाधक बन्ने छैन ।
भण्डारीले वैशाख २०८१ मै सदस्यता नवीकरण गरेपनि विवादमा परेको थिएन, सचिवालय बैठकमा ‘सदस्यता पेन्डिङ हो कि होल्डिङ’ वा नवीकरण विषयले प्रवेश पायो । यसअघिकै सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले भण्डारीबारे निर्णय गराउन चाहेका थिए । अघिल्लो बैठकमा पछि छलफल गर्ने ओलीको प्रस्ताव अनुरूप नै छलफल अगाडि बढ्यो ।
बिहीबारको बैठकको सुरूआतमै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन रोक्नुपर्ने धारणा राखे, ‘राष्ट्रपति, पूर्व राष्ट्रपति भइसकेका व्यक्ति फर्किएर पार्टी राजनीति गर्छु भन्नु गलत हो। यो पार्टीको मात्र कुरा होइन, हाम्रो व्यवस्था, प्रणालीको पनि कुरा हो । बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘देशको सर्वोच्च पदमा जाने भनेको अब पार्टीमा फर्कन्न भनेर नै जाने हो, फेरि फर्किएर राजनीतिमा आउँदा त्यो पदको गरिमा के बाँकी रहन्छ!’ ओलीको भनाइमा सचिवालयका सदस्यहरूको मत बाँडिन थालेपछि ओलीले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकपछि छलफल गर्ने भन्दै प्रसङ्ग बिट मारेका थिए।
बैठकमा सबैलाई शान्त पार्ने खालको अभिव्यक्ति दिएका ओलीले पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा भने नेतृत्व हस्तान्तरणको अवस्था नरहेको बताए । ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन, किनभने एक त उहाँ पोलिटिक्समा आउनु हुन्छ भनेर पार्टीले ठानेको मानेको अवस्था छैन,’ ओलीले भने, ‘दोस्रो उहाँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएको छ । पहिले पनि लिडर सिपमा बसेर त्यस्तो सङ्गठनात्मक काम गरेको अनुभव छैन ।’
यद्यपि, ओलीले यो विषयमा पार्टीले उपयुक्त समयमा छलफल गरेर निर्णय लिने बताए। ‘उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्नुपर्छ,’ ओलीले भने, ‘तर धेरै ढिलो त गर्दैनौं ।’
शनिबार पोलिटब्युरो बैठक समापनका क्रममा भण्डारीको सदस्यता र जिम्मेवारीबारे ओली जुन रूपमा प्रस्तुत भए, त्यसलाई आधार मान्ने हो भने आइतबारको भेटवार्तामा जिम्मेवारीबारे भण्डारीलाई ओलीले के जवाफ दिए कौतूहल्ताको विषय बनेको छ ।
छलफलमा बस्नुअघि उनीहरूले सामूहिक फोटा खिचाएका थिए । त्यसपछि वान टु वान सुरु भएको बैठकमा दुवै जना हँसिलो मुद्रामा देखिएका थिए । वार्ता सकेर ओली र भण्डारी सँगसँगै झरे । ओली सरासर कार्यालयबाट गाडि चढेर बाहिरिए । उनी गम्भीर मुद्रामा देखिन्थे । पत्रकारसँग कुरा गर्ने रुचि देखाएनन् । बैठक प्रवेशकै बेला उमेर हदको बिषययमा केही पत्रकारले गरेको प्रश्नमा ओली आक्रामक भएका थिए ।
भेटपछि भण्डारी भने पत्रकारलाई प्रतिक्रिया दिन तयार भइन् । तर, उनले बोल्ने क्रममा निकै होहल्ला र हुलमुल भयो । पत्रकार सम्मेलन अत्यन्तै अव्यवस्थित भएपछि भण्डारी राम्ररी बोल्न पाइनन् । उनलाई सुरक्षाकर्मीहरूले त्यहाँबाट निस्किन सुझाए । भण्डारी पनि गाडी चढेर बाहिरिइन् । भण्डारीले संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिको समसामयिक विषयमा मात्रै कुरा भएको मात्र प्रतिक्रिया दिइन् ।





























प्रतिक्रिया