सानो गोसाइँकुण्ड भनिने रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड

सानो गोसाइँकुण्ड भनिने रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड

केन्द्रबिन्दु
39
Shares

भक्तपुर । सानो गोसाइँकुण्डका रूपमा परिचित भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ।

रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन रत्नचडेश्वर महोदव पोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनैपूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ।

हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ मध्यरातिदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए। महादेव पोखरी कुण्डमा मेला भर्न दिनभरी नै भीड लागेको भन्दै उनले हिन्दू र बौध धर्मावलम्वीहरुले मेला भर्न आएको बताए।

काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस मेला भर्न आएको बताउदै वडाध्यक्ष लामाले रसुवाको गोसाइँकुण्डको पानी यहाँको कुण्डमा आउने जनविश्वास रहँदै आएकाले सयौँ वर्षदेखि यहाँ मेला लाग्दै आएको बताए।

मेलाको अवसर छोप्दै यस क्षेत्रमा हिजो बेलुकीदेखि नै दुईदिने व्यापारका लागि सयौँ पसलहरु खुलेका छन्। यहाँ आसपासमा ठूलो बजार लागेको बताउँदै उहाँले रातिदेखि नै हिन्दू र बौद्ध धर्मापलम्वीहरु विभिन्न झाँकीसहित पूजा गरेका छन्। उनले आज यहाँका बासिन्दाले महादेवलाई नयाँ मकै चढाउने गर्दछन्। उनका अनुसार यसवर्ष फलेको मकै आज चढाएपछि मात्रै स्थानीयले खाने गर्दछन् ।

गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो परम्परा रहेको बताउँदै वडाध्यक्ष लामाले कुण्डमा विभिन्न जातजातिका समुदायले आ–आफ्नो परम्पराअनुसार पूजा झाँकीसहित आएर मेला भरेको बताए।

आजै भक्तपुरको कालदहमा बिहानैदेखि मेला लागेको छ। भक्तपुर नगरपालिका व्यासी औद्योगिक क्षेत्रस्थित कालदहमा स्नान गरेर बीचमा रहेको महादेवको पूजा गर्दा छालालगायत शरीरमा भएको रोग निका हुने धार्मिक विश्वास रहँदै आएको छ। आज विशेष गरी यहाँ भक्तपुरका नेवार समुदायले स्नान तथा पूजा गरेका छन्।

Skip This
Skip This
Logo