युवाहरूको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँ -परराष्ट्रमन्त्री देउवा

युवाहरूको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँ -परराष्ट्रमन्त्री देउवा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशका युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरूको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरूप्रति नै देशले भर गरेको बताएकी हुन् ।

नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवाहरूको रहेकाले यही बर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उनको भनाई थियो । युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उनले जोड दिइन्।

मन्त्री डा राणाले युवाहरू सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै भनिन्, “म युवाहरू विदेश जानै हुदैन भन्ने पक्षमा छैन । म भन्छु यहाँहरू विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस् । हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ ।”

स्वदेश फर्किएका कैयौँ युवाहरूले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका बताउँदै मन्त्री डा राणाले युवाहरूको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट पारिन् ।

Logo