बैतडी । नियमित गर्भजाँचका लागि बैतडीमा गर्भवतीको घरमै निमन्त्रणा कार्ड पठाउने कार्य थालिएको छ । यहाँको सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्र रहेका गर्भवती आमालाई घरमै निमन्त्रणा कार्ड पठाउन थालेको हो ।
स्वास्थ्यचौकी प्रमुख सुरेन्द्रसिंह महराले गर्भवतीलाई नियमित चेकजाँच गराउन उत्प्रेरित गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड पठाउन थालिएको बताए । उनले भने, “निमन्त्रणा कार्डमा गर्भावस्थामा नियमित गर्भजाँचको महत्त्व र फाइदाका विषय समेटेका छौँ । यसका साथै सुत्केरी भएपछि स्वास्थ्य जाँच गर्नुको महत्त्वसमेत त्यसम उल्लेख छ ।”
गर्भवती भएपछि स्वास्थ्य संस्थामा आठ पटक गर्भजाँच गराउनुपर्ने भए पनि कतिपयले गर्भजाँच नगर्ने भएकाले यस्तो अभियान सञ्चालन गर्नुपरेको स्वास्थ्यचौकी प्रमुख महराले बताए । निमन्त्रणा कार्डमा गर्भवती आमाले साबिकभन्दा थप पोषिलो खानेकुरा खानुपर्ने उल्लेख गरिएको छभने ‘आइरन’ चक्की सेवन गर्नुपर्ने, ‘टिडी’ खोप लगाउनुपर्ने, जुकाको औषधि सेवन गर्नुपर्नेलगायत कुराहरू उल्लेख छन् ।
स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले यो अभ्यासले आमा र शिशुको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया