काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने तय भएकाे छ ।
परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले भदौ १४ गतेदेखि १८ सम्म चीन भ्रमण गर्ने तालिका सार्वजनिक गरेको हाे । सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका ओलीले तियान्जिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नेछन्।
उनले भदौ १५ गते तियान्जिनमै हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। एससीओ शिखर सम्मेलनका अवसरमा प्रधानमन्त्रीले विभिन्न विश्व नेताहरूसँग पनि भेट गर्नेछन्।
त्यसैगरी, भदौ १६ गते प्रधानमन्त्री ओलीले बेइजिङमा जनवादी गणतन्त्र चीनका उपराष्ट्रपति महामहिम हान झेंगसँग भेट गर्नेछन्। भदौ १७ गतेमा उनले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धको ८०औं विजय वर्षगाँठ मनाउन बेइजिङमा आयोजना हुने कार्यक्रमहरूमा पनि सहभागी हुनेछन्।
प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्यसँगै भ्रमण टोलीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, सांसदहरू पूर्णबहादुर खड्का र छबिलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र अन्य उच्च सरकारी अधिकारीहरू सामेल हुनेछन्।
प्रधानमन्त्री ओली र उनको प्रतिनिधिमण्डल भदौ १७ गते नै स्वदेश फर्किनेछन्।





























प्रतिक्रिया