काठमाडौं । साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नयाँ प्रविधि अपनाउने सन्दर्भमा नेपालीहरू सधैं अगाडि रहने बताएकी छन् ।
दाउराबाट इन्डक्सन चुलोमा सहजै स्विच भएको उदाहरण दिँदै विद्युतीय सवारी (ईभी)मा पनि त्यस्तै आकर्षण रहेको बताइन्।
‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’अन्तर्गत “ईभी एडप्टेसन इन नेपाल –अवसर र चुनौती” शीर्षकमा भएकाे प्यानल डिस्कसनमा उनले यस्ताे बताएकी हुन् ।
श्रेष्ठका अनुसार, नेपालको भौगोलिक अवस्था र घरेलु ऊर्जाको उपलब्धताका कारण ईभीको प्रयोग बढिरहेको छ। उनले ईभीको सहजताले गर्दा यसप्रति मानिसहरूको आकर्षण बढेको दाबी गरिन्।
श्रेष्ठले ईभीका बारेमा आएका नकारात्मक समाचारप्रति पनि टिप्पणी गरिन्। उनले भनिन्, “शोरुमबाट बाहिर निस्केको गाडीमा एउटा किला लागे पनि त्यसको समाचार आउन थालेको छ।” यद्यपि, यस्ता समाचारले जनचेतना बढाउन भने फाइदा पुगेको उनको भनाइ छ।
उनले कुनै बेला काठमाडौं-हेटौंडा चल्ने माइक्रोबसमा बस्नै हुँदैन भन्ने धारणा पनि रहेको स्मरण गराउँदै, जुनसुकै गाडी चलाउनुअघि सावधानी अपनाउनु आवश्यक रहेको बताइन्।
सार्वजनिक यातायातमा ईभीको प्रयोग बढाउनका लागि श्रेष्ठले केही चुनौती औंल्याइन्। उनले भनिन्, “१ करोड रुपैयाँले ठूलो सार्वजनिक ईभी ल्याउनुभन्दा साना तीनवटा गाडी ल्याउन सकिन्छ।” यसले गर्दा ठूला सार्वजनिक ईभीको सम्भावना कम भएको उनको भनाइ छ।
सार्वजनिक यातायातका लागि ईभी खरिदमा ब्याजदर कम हुनु आवश्यक रहेकोमा पनि उनले जोड दिइन्।































प्रतिक्रिया